छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १८, काठमाडौं । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

म्याग्दी:

मालिका गाउँपालिका-७ बिमस्थित सडकमा ग १ ख ४४७६ नम्बरको बस सडकदेखि करिब दुई सय मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

आइतबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेहरू सोही ठाउँ बस्ने ७० वर्षीया सतदेवी भट्टचन, ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवि जुग्जाली र गुल्मी कालिगण्डकी गाउँपालिका-२ अर्बेनी बस्ने ३० वर्षीय विष्णु पाण्डे छन्।

दुर्घटनामा घाइते भएका २९ जनामध्ये हाल जिल्ला अस्पताल म्याग्दीमा १० जना र मणिपाल अस्पताल पोखरामा पाँच जनाको उपचार भइरहेको छ।

१४ जना सामान्य उपचारपछि घर फर्केका छन्।

बस चालक म्याग्दी मंगला गाउँपालिका-१ कुहुँ बस्ने ३६ वर्षीय टेकबहादुर सार्कीलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलाली:

घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गमा भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय राजबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका ३९ वर्षीय मानबहादुर चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ।

दुवै सवारीसाधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाजुरा:

बूढीगंगा नगरपालिका-६ बाम्कास्थित सडकमा साइकल दुर्घटना हुँदा आइतबार दिउँसो साँफेबगर नगरपालिका-६ घर भएका पूर्ण सुनारका १४ वर्षीय छोरा अनिल सुनारको मृत्यु भएको छ।

साइकल चलाउन सिकिरहेको अवस्थामा साइकलसँगै सडक छेउको पहिरो गएको स्थानबाट करिब १ सय ५० मिटर तल खस्दा गम्भीर घाइते भएका अनिलको बयलपाटा अस्पताल अछाममा उपचारको क्रममा मृत्यु भएको छ।

पर्सा:

जगन्नाथपुर गाउँपालिका-६ स्थित सडकमा ना ३३ प २९४७ नम्बरको मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउमा रहेको गाउँपालिकाको बोर्डमा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय रवीन्द्र पासवानको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ।

कपिलवस्तु:

यशोधरा गाउँपालिका-५ मुडिलास्थित सडकमा युपी ५५ एए ४७८५ नम्बरको मोटरसाइकल बाटोको छेउमा रोकिराखेको आरजे १४ जिजे ०८४० नम्बरको टेलर ट्रकमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका-५ शिवापुरुवा बस्ने २३ वर्षीय बाहेतु यादवको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ।

दुवै सवारी साधन नियन्त्रणमा लिई फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस