नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ को शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक ९, काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आयोजना गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका छन् । उनले नेपाली जनताको लडाइँ, संघर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए । “सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्छ,’ उनले भने । उनले सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको आरोप लगाए । सभापति देउवाले पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर रहेको उनको भनाइ थियो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिपीको विचार नै मुलुकको विकासका लागि महत्वपूर्ण विचार भएको उल्लेख गर्दै “कांग्रेस रूपान्तरणका लागि जागरण अभियानले महत्त्वपूर्ण भूमिका खेलेको बताए । प्रवक्ता शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी कांग्रेस संगठन विस्तारमा लाग्नुपर्नेमा जोड दिए ।

काठमाडौं निर्वाचन क्षेत्र नं.६ का सांसद भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुटउपगुट अन्त्य भए मात्र आगामी निर्वाचनमा कांग्रेस विजयी हुने बताए । निर्वाचनमा जितेको सभापतिलाई काम गर्ने वातावरण दिनुपर्ने उनको भनाइ थियो । कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले हिजोका दिनमा भएका कमी कमजोरीलाई सच्याएर अगाडि बढे मात्र कांग्रेस बलियो हुने बताए ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति एवं काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष स्यामराज तिवारीले अरू बेला कांग्रेस र निर्वाचनको बेला अरू दललाई भोट दिने प्रवृत्तिका कारण कांग्रेसले बताए । क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, प्रदेशसभा सदस्य जीवन डंगोल, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनलगायतले आफ्ना भनाईहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस