सांसद बस्नेत भन्छन “मैदानमा अस्थित्व नभएको पार्टीले के भन्छ भनेर टाउको दुखाउनु जरुरी छैन”

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

नेकपा सूर्यविनायक वडा नं. ९ को आयोजनामा नेपालीहरुका महान् चाड दशैं, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाड पर्वहरुको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको क्षेत्र नं. २ मा मैदानमा नै नभएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको विकास र समृद्धिमा विरोध गर्ने गरेको उल्लेख गर्नुभयो । लामो समयसम्म समेत नेमकिपा र कांग्रेसले भक्तपुको नेतृत्व गरेको तर विकास र समृद्धिमा सधैं अध्यारोमा राखेको बताउनुभयो ।

नेमकिपाको भक्तपुरको विकास रोक्न सक्ने क्षमता नभएको उल्लेख गर्दै उहाँले विकासको विरोध गरे जनमुखी कामको लागि सरकारले हस्तक्षेप गर्ने समेत चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘नेमकिपा र कांग्रेसले वीस वर्षमा गरेको विकासलाई नेकपाले दुई वर्षमा पुरा गरिदिएको छ । आगामी दिनमा जनताको चाहना अनुसार एक पछि अर्को गर्दै जनताको विकास प्रतिका आकांक्षा पुरा गर्दै जानेछौं । सक्नु हुन्छ भने विकास गर्नुहोस्, हैन भने हामीलाई जिम्मा दिनुस्, विरोधको खेती नगर्नुस् ।’

नेमकिपा र कांग्रेसको नेतृत्वमा भक्तपुरमा जनताले समस्या झेल्दै विताउनु परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘धेरै वर्षमा तीन वटा पुल बनेहोला, अहिले एकै वर्षमा तीनभन्दा बढी पुल बनिरहेका छन् । अबको तीन वर्षभित्रमा विकासयुक्त र समस्यामुक्त भक्तपुर बन्छ ।’

रंगशालामा नेमकिपाले ठूलो राजनीति गरिरहेको छ । त्यो भ्रमको खेती धेरै दिन नटिक्ने चेतावनी दिँदै रंगशालाको निर्माणसँगै भक्तपुरका धेरै जनतामा गरिवीको समाप्त हुने र जीवनस्तर उच्च हुन्छ समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ सरकार अघि बढ्छ । हुनमन्ते करिडोर तथा रंगशालाका आसपासका जग्गा एकिकरणको माध्यमबाट करिडोर बन्छ । त्यसमा जग्गाको क्षेत्रफल घट्छ तर मुल्याङ्कन बढ्छ ।’

सांसद बस्नेतले नेकपा नेतृत्वको सरकारले सुशासन र शान्तिको लागि नेकपा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै सरकार विकृति र विसंगतिको विरुद्धमा अघि बढ्ने स्पष्ट पार्नुभयो । आर्थिक वृद्धिदरमा दक्षिण एसिया उत्कृष्ट हुँदै गएको बताउँदै उहाँले आर्थिक वृद्धिदर वर्तमान सरकारका कारण जनतामा आशाका किरणहरु पलाएको दावी गर्नुभयो ।

अबको २/३ वर्षमा करिव पाँच सय विद्युत वेच्ने क्षमता नेपालले विकास गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘अब ग्यासबाट खाना पकाउने हैन, विद्युतबाट खाना पकाउने थाल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस