नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश, इतिहासमा नभएका काम यो सरकारले गर्यो : प्रम ओली

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताउँदै इतिहासमा कहिल्यै नभएका काम बर्तमान सरकारको पालामा भएको दावी गर्नुभएको छ ।

सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकास र समृद्धिको आधारमात्र तयार गरेको नभई जनताले देख्ने र भोग्ने गरी काम अधि बढाएको बताउनुभयो । निर्माण कम्पनीले समयमै काम सक्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’

टोखा – छहेर, बेत्रावती – स्याफ्रुवेशी सुरुङमार्गलाई अगाडि बढाउन लागिएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यो सुरुङमार्गबारे अध्ययन गर्ने समझदारी भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको दाबी गर्दै १६०० किलोमिटर त सडक कालोपत्रे मात्र गरिएको, २४३ पक्की पुल र दुई सय हाराहारी झोलुंगे पुल बनेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले बाटाहरु मात्र बनाइरहेका छैनौं । एयरपोर्टहरु बन्दैछ । फास्ट ट्र्याक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ ।’

आफूले पानी जहाजको कुरा गर्दा कतिपयले खिल्ली उडाए पनि अहिले कोलकाताबाट विराटनगर नजिकसम्म पानी जहाजमा साउन आउन थालेको प्रधानमन्त्री ओलीले बताउनुभयो । सप्तकोसीमा सानो भए पनि पानी जहाज चलेको भन्दै प्रधानमन्त्रीले २० मिनेटमा सुनसरीबाट भोजपुर पुग्न सकिने बताउँदै उहाँले भन्नुभयो, ‘कुरा गर्ने मान्छेहरु कुरा गरिरहेका छन् । सरकारले काम गरिरहेको छ । दुरगामी असर पार्ने कदमहरु चालेको छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस