असफलताको गोरेटोमा देउवा सरकार !

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

नेकपा एमालेको सरकार गिराएर गठबन्धनको सरकार बनेको पनि आज करिब ६७ दिन भैसक्यो तैपनि चार मन्त्री र एक राज्यमन्त्रीको भरमा देउवाको सरकारी रथ अगाडि बढीरहेको छ । हाल देउवाले १७ मन्त्रालयको अस्वभाविक भारी बोकिरहेका छन । जसले गर्दा हाल सम्बन्धित मन्त्रालयका सचिवहरु आवश्यक पर्दा फाइल कागजाद बोक्दै बालुवाटार धाइरहेका छन तर पनि समयमा सम्बन्धित मन्त्रालयको भारी बोकेका देउवालाई भेट्टाउन भने मुश्किल भएकोले दैनिक कामकाजमा धेरै असर परेको छ ।

सरकारी गठबन्धनको घुम्टो ओढेका पाँच दलमा अहिले विभिन्न मन्त्रालय बाँडफाँड र एमसीसीको विषयलाई लिएर आन्तरिक मतभेद शुरु भएको छ । उता दुई महिनादेखि बजेटको धारणा बनाउन नसक्दा देश इतिहासमै पहिलोपटक आर्थिक सट्डाउनमा परेको छ । पूरवर्ती सरकारलाई संबैधानिक मान्यतामा अडिग नभएको भनि प्रतिगामी सरकारको ट्याग भिराएर कानुनी बलमा बनेको गठबन्धन सरकारले दल विभाजनसम्बन्धि अध्यादेश जारी गरी अर्को किर्तिमान कायम गरेको छ । एकातिर एमालेले कार्वाही गरेका सांसदहरुलाई सभामुखले सूचना टाँस नगरेर पार्टी फुटाउन सहयोग गरेको भनि उनको कदम बिपरित एमालेले प्रतिनिधिसभा बैठक चल्न दिएको छैन भने अर्कोतिर विभिन्न १५ अध्यादेश निष्कृय भएका छन । उता भारतीय एसएसवी टोलीले तुइन खुस्काएर नेपाली युवाको हत्या गरेका छन भने नेपाली आकासमा बिना अनुमति हेलिकप्टर उडाउंदासमेत सरकार चुपचाप छ ।

यसै बिचमा देउवाको आफ्नै पार्टीका नेताहरुले पनि उनको ब्यापक आलोचना गरेका छन । रामचन्द्र पौडेलले त “धान्नै नसक्ने बोझ बोक्नुभएको छ” भनि कान्तिपुरमै असहमति ब्यक्त गरेका छन । अर्कोतिर गगन थापाले आफ्नै सरकारको तारिफ गर्न लाज भइसक्यो भनेर सामाजिक संजालमा आक्रोस ब्यक्त गरेका छन । गठबन्धनकै अर्का नेता प्रचन्डले पनि विभिन्न कार्यक्रममा देउवा सरकार बिरुद्द असन्तुष्टी पोखेका छन । समग्रमा भन्नुपर्दा देश अहिले अनिर्णयको बन्दी बनिसकेको छ । रथ हाँक्ने सारथीले कुन बाटो रोज्ने हुन गठबन्धनकै नेताहरु एकापसमा सशंकित हुनथालेका छन । जसले गर्दा आम सर्वसाधारणको बुझाइमा देउवा सरकार असफलताको गोरेटोमा लम्किरहेको भान परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस