संखुवासभा हत्याकाण्डका आरोपी प्रहरीद्वारा सार्वजनिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ २७, संखुवासभा। संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । चैनपुरमा आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न भनिएका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरिएको हो ।

यही भदौ २१ गते बिहान तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको वीभत्स हत्या भएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार उक्त घटना योजनागत भन्दा पनि आवेशमा आएर गराएको देखिएको छ । मानिसक रूपमा समेत विक्षिप्त भएका लोकबहादुले आफूलाई अवहेलना भएको भन्ने मानसकिताले हत्या गरेको पाइएको छ । उनले हत्या गर्दा प्रयोग गरेको कपडा र प्रयोग गरेको वस्तु फरेन्सिक जाँचको लागि पठाइएको छ । डीआईजी बिसीले भने, अभियुक्तले एउटै चिर्पट प्रयोग गरेको रहेछ । त्यसलाई अगेनोमा ल्याएर डढाएको रहेछ । एउटै चिर्पटले बारम्बार टाउकोमा हान्दा एकै प्रकृतिको चोटबाट सबैको मृत्यु भएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार नै छिमेकी तथ नातामा भतिज पर्ने लोकबहादुरलाई पक्राउ गरेको थियो ।

आफूमाथि तेजबहादुरले बारम्बार गरेको अपमानको बदला लिन पहिले उनको हत्या गरेको र पछि परिवारका सदस्यले समेत देखेको हुनाले सबैलाई पालैपालो हत्या गरेको कार्कीले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अरूको हत्या गरेको बयान उनले दिएका छन् । मादी नगरपालिका–१, उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाति दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । घटनामा परिवारका सातजनामध्ये आँखा कम देख्ने र कम सुन्ने बौद्धमान मात्र जीवित छन् ।

अनुसन्धान गर्ने क्रममा आवश्यक प्रमाणहरू जुटाउन प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो । आरोपित कार्कीले नातामा काका पर्ने तेजबहादुर घरबाट निस्किएको देखेपछि आक्रमण गर्ने योजना बनाएको र चाङबाट एउटा चिर्पट निकालेर खोल्सीमा पुगेपछि आक्रमण गरेको बताएका छन् ।

आक्रमणपछि तेजबहादुरले गुहारगुहार भन्दै चिच्याएको सुनेर श्रीमती कमला र बुहारी रञ्जना घटनास्थलतर्फ गएको र उनीहरूलाई पनि लोकबहादुरले चिर्पटले हानेका थिए । पछि दुई छोराछोरीलाई पनि लोकबहादुरले आक्रमण गरेको बताइएको छ । काकालाई मात्र मार्ने लक्ष्य भए पनि अरूले देखेकोले सबैलाई सिध्याइदिएको कार्कीले प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस