काष्ठमण्डप पुनःनिर्माणमा नातिदेखि बाजेसम्म

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

साउन २५ काठमाडौँ । काठैकाठले बनेको विश्वप्रसिद्ध सत्तल काष्ठमण्डप पुनःनिर्माणमा भक्तपुर डिबुछो, गलसीको एउटा राजचल परिवार एक वर्षदेखि निरन्तर खटिइरहेको छ ।

सात पुस्तादेखि काठका बुट्टा कुँद्ने काम गर्दै आएको राजचल परिवारको तीन पुस्ता अहिले काठमण्डप पुनःनिर्माणमा जुटेको हो । हनुमानढोकास्थित पुरानो प्रहरी कार्यालयको भवन परिसरमा राँवो, बसिला, रन्दा र आरासँग दैनिकी बिताइरहेका ७३ वर्षे लक्ष्मीभक्त राजचलले भन्नुभयो, “जानेकै यही त हो, अरू के काम गर्ने ? स्कुल बिदा भएको बेला त नातिसमेत आएर सघाउँछ । ”

काष्ठमण्डपको दोस्रो तहको थाममाथि राख्ने निदालको गास बनाउन तल्लीन लक्ष्मीभक्तले दाउराको फेरले पसिना पुछ्दै भन्नुभयो, “ऐतिहासिक सम्पदा संरक्षणमा पसिना बगाउन पाउँदा गर्व लाग्छ । एउटा इतिहासमा इँटा थपेजस्तो हुन्छ । ” लक्ष्मीभक्तका दुई छोरा लक्ष्मीप्रसाद र कृष्णप्रसादसहित भाइ, भान्जा र भतिजा गरी १० जनाको समूहले काष्ठमण्डपको थाम, निदाल, मेठ, झ्यालका बुट्टा बनाइरहेका छन् ।

पुनःनिर्माणमा सम्भव भएसम्म पुरानै काठ प्रयोग गर्नुपर्ने भएकाले पुराना बुट्टालाई दुरुस्त उतार्न र जडानमा विशेष ध्यान दिनुपर्ने लक्ष्मीभक्तको अनुभव छ । बाबुबाजेसँगै काममा हिँड्दाहिँड्दै नौ वर्षको उमेरदेखि काम जानेका लक्ष्मीभक्तले भन्नुभयो, “विश्वविद्यालयमा गएर जानिने सीप हो र यो ? त्यही भएर आठ कक्षामा पढ्दै गरेको नातिलाई पनि बेलाबेलामा ल्याएर काममा लगाउँछु । चिनो लगाएको ठाउँमा उसले पनि प्वाल खोप्छ । ”

भक्तपुर नगरपालिका–५ डिबुछो, गलसीका लक्ष्मीभक्तका चार भाइ छोरामा सबै काष्ठ कालिगढकै रूपमा थिए । पछि सबैले एउटै काम के गर्ने भन्दै एक भाइ व्यापार र अर्को विदेशतिर लागे । पनौती, धुलिखेल, पाटन, काठमाडौँ, भक्तपुर मात्र होइन, भारतको बनारसमा समेत पुगेर लक्ष्मीभक्तले जीर्णोद्धार र पुनःनिर्माणको काम गर्नुभएको छ ।

बनारसमा ललिताघाट र राजराजेश्वरीघाट प्रसिद्ध छन् । रणबहादुर शाहका रानीहरू ललितत्रिपुरा सुन्दरी र राजराजेश्वरी देवीको नाममा स्थापना गरिएका यी दुई घाटनजिकै साम्राज्येश्वर महादेव मन्दिर छ । नेपाली शैलीको यो मन्दिर राजा राजेन्द्रवीरविक्रम शाहकी रानी साम्राज्यलक्ष्मी देवी शाहको अन्तिम इच्छाअनुसार १९०० सालमा बनाइएको हो ।

पशुपतिनाथको प्रतिस्वरूपजस्तो लाग्ने सो मन्दिरको मर्मत र चारवटा ढोका फेर्नका लागि २०५६ सालमा दुई जना अन्य सहयोगीसहित बनारस पुग्नुभएका लक्ष्मीभक्तले एक महिना बसेर धमिराले ध्वस्त पारेको चारवट ढोका राख्दाका ती कठिन दिन सम्झनुभयो, “नेपाली कलाको संरक्षण र नेपालीको इज्जतका लागि धेरै जोखिम लिएर ढोका फेरेको थिएँ । ”
काष्ठमण्डपको मूलथाम र निदाल राख्ने बेलासमेत भक्तपुरबाट खट बाँध्ने सीप भएका कालिगढ ल्याएर लक्ष्मीभक्तले नेपाली परम्परागत सीप र ज्ञान प्रदर्शन गर्नुभएको थियो । माथिको संरचनालाई टेका र खटको माध्यमबाट उचालेर तलको संरचना परिवर्तन गर्नु निकै जोखिमपूर्ण हुने उहाँको अनुभव छ ।

जुन सीप र ज्ञान बाबुबाजेबाट उहाँले सिक्नुभएको थियो । काष्ठकालिगढमा ‘लक्ष्मी घराना’कै रूपमा बुद्धिनारायण, लक्ष्मीदास, लक्ष्मीनारायण, लक्ष्मीबहादुर, लक्ष्मीभक्त, लक्ष्मीप्रसाद र पछिल्लो पुस्ताका रूपमा लक्ससम्मको योगदान रहेको छ । जुन घरानाले नेपाली मठ, मन्दिर, पाटी र सत्तलको जीर्णोद्धार र पुनःनिर्माणमा परम्परागत कला, सीप र ज्ञानको हस्तान्तरण नयाँ पुस्तामा गर्दै आएको छ ।

सम्पदा पुनःनिर्माण वा जीर्णोद्धारमा पुरातìवविद्हरूले समय मिलेसम्म लक्ष्मीभक्तलाई नै खोज्छन् । भक्तपुरको ५५ झ्याले दरबारको पुनःनिर्माणका बेला ऐतिहासिक सम्पदाका रूपमा रहेको विश्वरूपको चित्रलाई जस्ताको तस्तै राखेर तलमाथिको काठ परिवर्तन गरिएको घटनालाई जीवनकै महìवपूर्ण काम ठान्नुहुने लक्ष्मीभक्तले भन्नुभयो, “नेपाली सम्पदा, कला, संस्कृति, सीप र ज्ञानलाई जोगाउने हो भने यो क्षेत्रमा अब नयाँ पुस्ता तयार पर्नैपर्छ । ”

यो समाचार गोरखापत्र दैनिकको पहिलो पृष्ठमा दीपक श्रेष्ठले तयारगर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस