साउन २४, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेपाल ट्रस्ट अन्तर्गतको स्व. राजा बीरेन्द्रको नाममा रहेको सम्पत्तिको स्थलगत निरिक्षण गर्न गएको विषयमा गलत नियतले समाचार सम्प्रेषण भएकोमा आक्रोशित हुनुभएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ट्विट गर्दै आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको पुष्टि गर्न चुनौति दिएका छन् । उनले ट्विटमा भनेका छन्,“निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीखेज र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरु, अनलाइनहरु तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरुप्रति खेद व्यक्त गर्दछु । पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर ।’
नेपाल ट्रस्टका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल गत शुक्रबार महाराजगंजको पश्चिमपट्टी सशस्त्र प्रहरी बसेको क्षेत्र, लाजिम्पाट, टेकु, सोल्टीमोड र छाउनी पुगि नेपाल ट्रस्टको निरिक्षण गर्नुभएको थियो ।