‘सिधाकुरा जनतासँग’का रिपोर्टर शालिकराम पुडासैनी चितवनमा मृत भेटिए

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

 साउन २१,काठमाडौं । नेपाली टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग ’का रिपोर्टर शालिकराम पुडासैनी चितवनमा मृत भेटिएका छन् ।

सोमबार राति चितवनको पोखरा बसपार्कस्थित होटल कंगारुमा पत्रकार पुडासैनी मृत भेटिएका हुन् ।सोमबार दिउँसो साढे ३ बजे होटलमा चेकइन गरेका पुडासैनीलाई बेलुकी मृत भेटिएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । राति पौने १० बजे खाना खानको लागि बोलाउन जाँदा ढोका नखोलेपछि, ढोका खोलेर हेर्दा भुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दान बहादुर मल्लले जानकारी दिनुभयो ।

शव झुण्डिएको र भित्रैबाट ढोका लक भएकोले पनि आत्महत्या नै गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अन्य विवरण पोस्टमार्टमपछि पत्ता लाग्ने प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो । विगत दुईवर्षदेखि न्यूज २४ टेलिभिजनको लागि नुवाकोटबाट रिर्पोटिङ गर्दै आएका उनी एकवर्षदेखि काठमाडौंको केन्द्रीय कार्यालयमै रहेर रिर्पोटिङ गर्दै आएका थिए ।

खोज पत्रकारितामा रुची राख्ने पुडासैनी  निरन्तर पत्रकारितामै सक्रिय थिए ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए । उनी मिसन न्यूज कार्यक्रम चलाउँदै आएका थिए । उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस