युवकको अन्तिम स्टाटस भयो “सबैले बिर्सिदिए पुग्छ मलाई यो जिन्दगीमा अर्को जुनीमा भेटौँला”

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

साउन २०,काठमाडौ । जोश, आत्मबल र साहस : यी तीन कुरा यी युवकमा थियो जो अरुमा थिएन। उनको नाम युवक। युवक लामा ११ कक्षामा पढ्दै थिए । दुर्घटनामा परेर एक खुट्टा गुमाएका थिए तर दुःखलाई जिल्याउँदै अरुका लागि प्रेरणा भएर बाँचिरहेका एक १९ वर्षीय किशोर ।

काठमाडौँको साइकल कम्युनिटीमा एकदम परिचित  एक खुट्टाकै भरमा साइकल चलाएर कहाँकहाँसम्म धेरै जिल्ला यात्रा गरिसकेका थिए । तपाइ हामिलाई विस्वास नलाग्न पनि सक्छ  तर  साच्चिकै युवक उनी अब यो दुनियाँमा रहेनन्।

आइतबार मध्याह्न १२ बजेर ४५ मिनेटमा उनले आफ्नो सेल्फी फेसबुकमा राखेका थिए ।

रुँदै गरेको जस्तो देखिने फोटोमा उनले क्याप्सन लेखेका थिए- सबैले बिर्सिदिए पुग्छ मलाई यो जिन्दगीमा,अर्को जुनीमा भेटौँला।

शायद् स्टायटस देख्ने बित्तिकै कसैले यादै गरेनन्। नत्र उनलाई जोगाउन सकिन्थ्यो कि !

तर केही समयपछि ललितपुरको हात्तीवनस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परे। संसार छाडिसकेका थिए उनले। ‘सबैले बिर्सिदिएपुग्छ’ लेखेका थिए उनले अन्तिम पटक। तर उनको त्यो जोश, आत्मबल र साहस बिर्सनयोग्य छैन।

शायद् उनी भित्रभित्रै ठूलै पीडामा बाँचिरहेका थिए। यो कुरा उनका नजिकका साथीभाइले बुझ्न सकेनन्। नभए उपचार पक्कै सम्भव थियो। थोरै मात्र मार्गनिर्देशन भएको भए उनले यो अमूल्य जीवन गुमाउन पर्दैन थियो। उनी अझ धेरैका लागि प्रेरणा बनिरहन्थे। उनले आफू जस्तै अरु धेरैमा आत्मबल जगाउन सक्थे।

२०६९ सालको दशैँमा धादिङ गल्छीस्थित घर जाँदै गर्दा भएको बस दुर्घटनामा परेपछि उनले एउटा खुट्टा गुमाउनु परेको थियो। त्यसको केही समयमा नै आमाको पनि मृत्यु भयो। यमलाल रसाइलीले उनलाई साइकल चलाउन सिकाए। रसाइली पनि एक खुट्टा बिना साइकल चलाउँछन्। काठमाडौँको पुरानो साइकल पसल पङ्क बाइकले उनलाई साइकलमात्रै निःशुल्क दिएन, जागिरसमेत दियो। उनले साइकलबाटै लुम्बिनीसम्म, नेपालगञ्ज, कोशी टप्पुसम्मको यात्रा गरेका थिए ।

हिमालयन आउट डोर अन्तर्गत् हात्तीवनमा भएको क्रस कन्ट्री रेसमा दोस्रो भएका उनको प्यारा ओलम्पिकमा सहभागी हुने सपना थियो जुन अब कहिल्यै पूरा हुने छैन।

फेसबुक पोस्टहरु हेर्दा केही दिनदेखि उनले पीडा पोखिरहेको देख्न सकिन्छ। उनले लेखेका थिए- ” जिन्दगी हरेक दिन उस्तै नहुदोरैछ। कहिले उदाएको घाम जस्तै त कहिले अस्ताउन लागेको सूर्य जस्तै।।।## शुक्रबार पनि उनले लेखेका थिए- अजिबको छ मेरो एक्लोपन। न खुशी छु, न उदास छु, बस।। खाली छु खामोस् छु″।

यस्ता पोस्टहरु हेरेर कसैले पूर्वानुमान गरेको भए उनलाई जोगाउन सकिन्थ्यो होला। उनी जोगिनु भनेको सयौँ उनी जस्तालाई जिउने प्रेरणा हुन्थ्यो। युवकलाई श्रद्धाञ्जलि!

प्रतिक्रिया दिनुहोस