झापाबाट शरीर बन्धक बनाई ४० लाख रुपैयाँ माग गरेको घटनामा संलग्न ४ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

साउन ७, झापा । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने मामा भाञ्जा ग्यारेजका संचालक २९ वर्षीय मेराज खान, सोही नगरपालिका बस्ने सुजन बिक, बिर्तामोड नगरपालिका २ चारपाने बस्ने ईलाम फाकफोकथुम गाउँपालिका १ घर भएकी २० वर्षीया रितु फियाक लिम्वु र बिर्तामोड नगरपालिका-४ बस्ने भारत किसनगञ्ज घर भएका मामा भाञ्जा ग्यारेजमा काम गर्ने २५ वर्षीय प्रकाश दास रहेका छन् ।

उनीहरुको साथबाट बा.१५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १ सय मिलिको शिलप्याक बोतल ३ थान, प्रोप्रानोल लेखिएको १५ चक्की, निट्रोसन १० लेखिएको ४ चक्की खाली भई ६ चक्की रहेको र कालो प्लाष्टीकको पेस्तोल जस्तो देखिने बस्तु १ थान तथा समेत प्रहरीले बरामद गरेको छ । सुजन विकले भारत दार्जिलिङ्ग जिल्लाबाट सञ्जु क्षेत्री नामबाट आधार कार्ड समेत बनाएको खुल्न आएको छ ।

बिर्तामोड नगरपालिका ४ मा व्यवसाय गरी बस्ने एक व्यवसायीलाई जोया नाम बताउने केटीले असार २८ गतेदेखि इमो र मोवाइलवाट नियमित सम्पर्क गरी साउन १ गते सोही नगरपालिकास्थित कुमारी बैंकको छेउ गल्ली भित्रको कोठामा लगि २ ३ जनाले हतियार देखाई कुटपिट समेत गरी निवस्त्र बनाई भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिई श्रावण ५ गतेसम्म उक्त रकम फिरौती नदिए ज्यान मार्ने धम्की समेत दिएको र पछि उनकै चिनजानको साथीको जिम्मा लगाई छाडिदिएको र उक्त दिनदेखि दैनिक रुपमा विभिन्न मोवाइल नम्बरबाट फोन गरी पैसा नदिएमा ज्यान मार्ने धम्की दिदै आएको भन्ने साउन ३ गते पीडितले दिएको उजुरीको आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिवादीमध्येका सुजन बिक २०७४ मा मानव वेचविखन तथा ओसारपसार मुद्धामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेको खुल्न आएको छ ।

पक्राउ उनीहरुलाई शरीर बन्धक बनाई अपराधिक आर्थिक लाभ उद्योग गरेको तथा लागूऔषध वारदातमा मुद्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस