भीम रावललाई राजीनामा फिर्ता लिन १४ सांसदको दबाब

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ६ साउन ।  नेकपा एमाले सुदूरपश्चिम (माधव समूह)का प्रदेशसभा सदस्यले एमाले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता गर्न आग्रह गरेका छन्। संघीय सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न उनीहरूले आग्रह गरेका हुन्।

काठमाडौं पुगेर प्रदेशका १४ जना प्रदेश सांसदले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन्। रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेश सांसद पदबाट राजीनामा दिने चेतावनीसमेत दिएको स्रोतले जनाएको छ।

रावलले उनीहरूको दिएको सुझावलाई ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिएको स्रोतको दाबी छ। पार्टी एकताका लागि गठित कार्यदलको संयोजक र सर्वोच्च अदालतमा हस्ताक्षर गरेकाले नैतिकताका आधारमा सांसद पदबाट राजीनामा दिएको रावलको भनाइ छ।

रावलले माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए। तर, सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन्। रावललाई पार्टीभित्रबाट समेत राजीनामा फिर्ता लिन दबाब छ।

प्रतिक्रिया दिनुहोस