एकै गाउँका १२ बालबालिका कोरोना संक्रमित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १, पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८, चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर बालबालिका संक्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका संक्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित भएका हुन् ।

रुघाकोकी, ज्वरोलगायत लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उनले बताए । उनले बालबालिका धमाधम संक्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशंका गरिएको बताए ।

अनुसन्धानकर्ताले तेस्रो लहरको संक्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए । पर्वतको यो संक्रमणको घटना तेस्रो लहरको संकेतका रूपमा व्याख्या गरिए पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए । चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय संक्रमित रहेका छन् । वडाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अक्सिजनसहितको आइसोलेसन सञ्चालन गरेको छ । संक्रमितलाई निःशुल्क उपचार, औषधि र अक्सोमिटरसमेत वितरण गरिँदै आएको छ ।

पर्वतमा सक्रिय संक्रमितको संख्या २०० रहेको छ । दोस्रो लहरमा संक्रमित भएका दुई हजार १४६ मध्ये एक हजार ९२१ जना निको भएका हुन् । कोरोना संक्रमणबाट अहिलेसम्म ५८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस