युरोकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २८, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो ।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।

इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए ।

त्यसअघि खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो । खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गरे । तर, खेलको ६७ औं मिनेटमा मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए ।

इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस