टेलरिङ पसलमा लागुऔषध कारोबार !

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौं । प्रहरीले ललितपुरको एउटा कपडा सिउने पसलबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ललितपुरमा कपडा सिउने काम गरिरहेका श्रीमान-श्रीमतीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दोरम्बा गाउँपालिका-७ रामेछापका सुरेन नगरकोटी र उनकी श्रीमती अजिता गुरुङ छन्।

उनीहरू ललितपुर उपमहानगरपालिका-११ मा टेलरिङ पसल सञ्चालन गर्दै आएका थिए।

उक्त पसलबाट मनोद्विपक लागुऔषध डाइजेपाम १७८३ एम्पुल, बुप्रोनोर्फिन २१२१ एम्पुल र फेनारगन १२०१ एम्पुल गरी ५१०५ एम्पुल र एक लाख ५० हजार रुपैयाँ नगद बरामद भएको ब्युरोले जनाएको छ।

ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यका अनुसार प्रारम्भिक अनुसन्धानबाट सुरेन नगरकोटी विगत लामो समयदेखि लागुऔषध एम्पुलको कारोबार गर्दै आइरहेको खुलेको छ।

नगरकोटीले लागुऔषध दिई मोबाइल सेट, आइप्याड तथा पावर बैंक धरौटीस्वरूप राख्ने गरेको खुलेको अमात्यले बताए।

नगरकोटीको पसलबाट मोबाइल सेट ३६ थान, आइप्याड ३ थान र पावर बैंक एक थान बरामद गरिएको थियो।

ब्युरोले विशेष सूचनाका आधारमा नगरकोटी दम्पत्तिले सञ्चालन गर्दै आएको टेलरिङ पसलमा शनिबार छापा मारेको थियो।

प्रतिक्रिया दिनुहोस