परदेशी छोरालाई आमाको पत्र

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ८ मिनेट
  • खिमराज गिरी

असार १९,काठमाण्डौ । परदेशी बाबु दुखी आमाको तर्फबाट आशिर्वाद छ ! हुन त तिमीलाई विदेश पठाउने रहर थिएन किन कि ती अतीतका कथा व्यथाहरु सम्झँदा अझैपनि कहाली लागेर आउँछ ।

बाबु, जब तिमी एक साधारण परिवारको पहाडी गाउँमा जन्मीयौ अनि तिमिलाई हुर्काउन, बढाउन, पढाउनको लागि मैले ती शोषक र सामन्तीहरुको दैलोमा भिष मागेर त कहिले उनीहरुको नोकर भएर भएपनि संघर्षको मैदानमा परेड खेलि नै रहेको थिँए । देशमा प्रजातन्त्र त आएको थियो तर शासन व्यवस्था निरंकुश जस्तै थियो, वोल्न, पढ्न र लेख्न पाइन्थ्यो तर तिनै झिँगटीका दरवारमा । गरीबको लागि विरोधका आवाजहरु गुञ्जिन त पाउँथ्यो मुश्किलले तर सुनुवाइ हुदैन्थ्यो । देशमा राणा शासन खतम भयो, प्रजातन्त्र आयो अनि निरँकुश पञ्चायती व्यबस्थाले स्थान पायो । समय वित्दै जाँदा २०४६ सालपश्चात् देशमा प्रजातन्त्र आयो तै पनि जनताका अति आधारभूत आवश्यकताहरु प्रिपूर्ति भने हुन सकेन ।

विभिन्न राजनीतिक पार्टीमा मानिसहरुको भर्ती केन्द्र खुल्न थाल्यो अनि गाउँ घर होस् या शहर वजार दलीय सिद्धान्तले गर्दा मानिसहरु एक आपसमा झगडा र वैमनश्यताको भूमरीमा रुमलिन थाले र वल्लो र पल्लो घरमा पनि न मर्दाको मलामी न त जिउँदाको जन्ती हुनसके । समय वित्दै गयो,  देश र माटोले नयाँ व्यबस्था माग्यो र २०५२ सालमा माओवादी पार्टीद्धारा जनयुद्धको घोषणा भयो र गाउँ गाउँ, वस्ती वस्तीहरुमा नयाँ क्रान्तीका ज्वालाहरु दन्किनथाले । त्यतिखेर सम्म त तिमी पनि ठुलै भइसकेका थियौ र त वाध्यतावस् द्धन्द्धको भूमरीमा जकडियौ । एक दिन जव तिमी र म वेलुकाको खाना खाई दुखी जीवनवारे भलाकुसारी गरेर वसिराखेका थियौं तव एक हुल मानिसहरु हाम्रो घरमा आए र तिमीलाई जनयुद्धको पाठ सिकाए, युद्धको कारुणिक कथा घोकाए, नेपाल आमालाई विश्वमा उत्कृष्ट राष्ट्कोरुपमा चिनाउने प्रयत्न गर्ने सम्बन्धमा कथा सुनाए, अनि निरँकुश राजतन्त्रलाई फाली गणतन्त्र अवश्य ल्याउने कुरा गरे र मेरो मन डराए पनि तिमीमा आएको त्यो अदम्य आँट र साहस देख्दा लाग्थ्यो, यो धरतीमा मैले पनि एक वीर सपूत जन्माएको रहेछु ! समय वित्दै गयो, एक दिन तिमी पनि मलाई एक्लै छोडी जंगलतिर लाग्यौ । आमाको मन न हो, एक्लो छोरो, वावाले पनि सानै छँदा छोडेर गए तै पनि तिम्रो मुख हेरेर यो अभागी जीवन व्यतित गरी वसिराखेको थिँए तर त्यो आशा पनि अव पुरा निरासामा परिणत भयो र म आखिर पहाडको गरीव उजाड वस्तीको पल्ला घरमा एक्लै वस्न वाध्य भएँ र मेरा दिनहरु झन वढो कठीनाईकासाथ वित्दै गए । न त तिम्रो खवर आउँछ, न त सपनामा नै देख्छु तिमिलाई । एकदिनको कुरा हो, घरमा भएको थोत्रो रेडियो खोल्दा समाचार सुने, ”माओवादी र सेनाको भिडन्त हुँदा कयौं जना हताहत भए, कयौं घाइतेहरु रणभूमिमा छटपटाईरहेका छन्, कतिको हात खुट्टा छैनन् त कतिका टाउकै छेदन भएका छन्, अनि कयौं मानिसहरु युद्धको मारमा परि गाउँ नै विचलित अवस्थामा छ आदि आदि ।” देसको लागि मर्न पनि तयार छु भनि नेपाल आमाको कसम खाई युद्धको मैदानमा होमिएको एक्लो टुहुरो छोराको सम्झनाबाट एक अवला आमा कसरी टाढा हुन सक्छे र ? तै पनि मनभरी तिमै्र पीडा रोदन अनि नेपाल आमाको उज्जवल भविश्यको कामना गर्दै दिनहरु विताइरहन्थे ।

जव जव लडाईको खवर सुन्थे अनि न दिनमा भोक, न त रातमा निन्द्रा, खालि सम्झना तिमै्र आइरहन्थ्यो तर तिमीले भने सायद फुर्सद नभएर होला एक चिठीको लपेटो पठाउने आँट र साहस पनि गर्दैनथ्यौ । तै पनि आमाको मन न हो, न त पेटभरी खाना नै पाएँ न त रातभरी सुत्न नै ! सँधै तिमै्र डर र चिन्ताले सताउँथ्यो कतै द्धन्द्धमा त फँसेनौ भनेर । यसरी दिनहरु वित्दै जाँदा मेरै अगाडि कयौं नारीहरु विदवा भए, कयौंका काख रित्तिए, कयौं घरवारविहीन भए भने कतिका सिँउदोका सिँधुर पुछिए, अनि कतिका छोरा छोरी गुमेका यहि आँखाले देख्न पर्यो अनि एकान्तमा वसी सोच्दथे, ”के यो देसमा एक दिन गरीवका दिन आउला त ? अनि के गास, वास, कपास, शिक्षा, स्वास्थ्य अनि रोजगारीका अवसरहरु निश्पक्षरुपमा गरीवका झुपडीहरुमा पनि पुग्ला त ? के सवै निकायहरु निश्पक्ष र सामाजिक न्यायको सिद्धान्तमा अडिक भई देशको क्यान्सरकोरुपमा स्थापित भइसकेको भ्रष्टाचारको रोग चाँडै निर्मुल होला ?” मनमा अनेक तर्क वितर्कहरु तछाड मछाड गरि नै रहन्थे । तै पनि अचानक विभिन्न दलहरु मिलेर निरकुँश राजतन्त्रको विरुद्धमा आन्दोलन गर्ने भन्ने सहमति भयो र २०६२। ६३ मा सँयुक्तरुपमा विभिन्न दलहरु मिलेर शहर वजारका सडकहरुदेखि लिएर गाउँ घरका उजाड वस्तीहरुमासमेत आन्दोलन छेडे र राजतन्त्र समाप्त भयो अनि देसमा नयाँ गणतान्त्रिक व्यबस्था आयो अनि मात्र एक दिन तिमीलाई अचानक सकुशल आँगनीमा देख्दा हर्षको सिमा नै रहेन अनि केहि समय भलाकुसारी गरेर वसियो र फेरि यस्ता द्धन्द्धका भुमरीमा नफस्ने प्रण गर्दै अव त नेपालआमाको पनि मुहार फेरिन्छ अनि प्रत्येक वेरोजगार युवाहरु रोजगारीको लागि विदेस जानुपर्दैन, देशले अव केहि वर्षमा नै काँचुली फेर्छ भन्दै युद्धका कहानीहरु सुनाउदैमा व्यस्त हुन्थ्यौ र म पनि दँग पर्दै पारिवारिक चिन्ता त एकातिर छँदै थियो तै पनि देस र जनताको लागि लडेका प्रत्येक युवाहरु सवैमा यस्तै सोच आउने हो भने सायद यो देस बन्नलाई धेरै समय नलाग्ला कि भनेर म पनि व्यग्र हुन्थे । समय वित्दै गयो, राज्य र द्धन्द्धरत पक्षविच विभिन्न चरणमा शान्ति सम्झौताका तगाराहरु वढाउँदै गइयो तै पनि केहि समयपश्चात् तिमि न सेनामा समायोजन हुन नै सक्यौ न अन्यत्रको रोजगारीमा फिट ! कयौं वर्षसम्मको तिम्रा ति संघर्षका पाइलाहरु केहि क्षणमा नै मेटिन वाध्य भए र हरेक क्षेत्रमा स्थान पाउन सफल भए तीनै सत्ता, शक्ति, नेताका भक्त र पुजारीहरुले तर जो दिन रातै जंगलको वास, गिठा भ्याकुरको गासमा रात कटाउँथे तिनिहरु भने आज तिमिलगाएत कयौं युवाहरु विदेसिन वाध्य भयौ र त आज परदेशी छोरालाई म अभागी आमाले पत्र लेख्दैछु । बावु, यो देस सतीले सरापेको देस हो, भनेर तिमीले कयौ पटक भनिरहन्थ्यौ र हुनपनि आजभोली विभिन्न दृश्य र परिदृश्यले यस्तै नै देखाइरहेको छ । यहाँ त न सरकारले राम्रो काम गरेको प्रतिपक्षलाई उचित लागेको छ न त सरकारी र प्रतिपक्ष दलहरु मिलेर अगाडि वढन सकेका छन् ।

विगतका द्धन्द्ध र विभिन्न शासन पद्धतिलाई विर्सेर भएपनि अव त सवै मिलेर यो देसलाई विकासको गतिमा अगाडि वढाउने प्रण गर्नुको सट्टामा प्रत्येक दिन सरकार एउटा निर्णय गर्छ तर प्रतिपक्षलगाएत अन्य दलहरुसँग सम्बन्धित व्यक्ति, बुद्धिजिवीहरु, मानवधिकारवादीहरु, केहि पत्र पत्रीकाहरुलगाएत अन्य सँचार माध्यमहरुले भने सरकारका राम्रा नराम्रा दुवै कामलाई समर्थन र सच्याउनुको वदला झन सडक तताउने काम गरी प्रत्येक शब्दहरुको शब्दकोष पल्टाई अमुल्य समय खेर फालिरहेका छन् । त्यसैले यसो सोच्दछु कि, ”तातो पानिले घर जल्दैन, भुसको आगो वल्दैन, अनि मृग दौडेर कहिल्यै थाक्दैन, वाँसको टुप्पामा कसौडी राखेर फेदमा आगो लगाउँदा कहिल्यै चामल पाक्दैन” भनेजस्तो नेपालीहरु अहिले कस्तासम्म भएभने मास्कोमा खेल भएको छ, मेसिले नराम्रो खेल्यो भनेर नेपालमा वसेर टि. भि. फुटाउँछन तसर्थ हरेक कुराहरुमा विरोधिको संस्कारै विरोधमात्र गर्ने हो भने यस्तो राजनैतिक कुसंस्कारको गन्ध कहिलेसम्म सुँघिरहनुपर्ने हो हामीले जस्तो लाग्दछ । त्यसैले बाबु, यहाँ त, जसले अरवौको भ्रष्टाचार गरेको छ, उसले करोड तिरे हुनेभयो, करोड भ्रष्टाचार हुदा लाख, लाख हुँदा हजार विगो तिराई झारा टारिने प्रवृत्तिले गर्दा यो देसमा भ्रष्टाचारको क्यान्सर रोग निको पार्नको लागि निकै कठिनाई भइराखेको छ । एकातिर प्रखर तिमीजस्ता युवाहरु खाडीको चर्को घाम र मरुभुमीमा पसिना वगाउन वाध्य छौ भने अर्कोतिर कर्मचारी प्रशासनमा पुराना अवशेषहरुले ठाउँ ओगटी न चुस्त र दुरुस्त प्रशासन, न त जनताका छोराहरुले सहजरुपमा आफ्नो काम गर्ने वातावरण बन्न दिइएको छ । सत्तापक्षले केहि विध्येयकहरु ल्यायो कि अध्ययन नै नगरी सारा हुल बथान लिई अदृश्य शक्तिहरु गणतन्त्रलाई कमजोर पारी धमिलो पानिमा माछा मार्ने मनसायले माइतिघर मण्डलामा थुप्रिने त दिनचर्या नै भइसकेको छ । अनि सत्तापक्षले पनि केहि महत्वपूर्ण कार्यको लागि प्रतिपक्षसँग सहकार्य गर्नलाई कन्जुस्याई गरेको हो कि के हो भन्ने भ्रम सारा जनतामा परेको छ ।

तसर्थ बाबु, सरकारले केहि दीर्घकालिन रणनीतिका योजनाअन्तर्गत राम्रा कामहरु पनि नगरेको होइन तर कतिपय राम्रा कामहरु गर्दा गर्दै पनि प्रतिपक्षका केहि सांसदहरुको विरोध जारी नै रहन्छ अनि संसद भवनको रोष्टममा पहिला जनताका प्रतिनिधिद्धारा २०४६ सालतिर जसरी अस्वभाविकरुपमा कराइन्थ्यो, चिच्याइन्थ्यो, कुर्ची भाचिन्थ्यो अहिले पनि संसदीय त्यो परम्परा कायमै छ । जनताका प्रतिनिधिले त सार्वजनिक संसद भवनमा जनहितका महत्वपूर्ण कामकावारेमा कुरा उठाउने र कुनैपनि विध्येयकहरु संशोधन गर्नुपर्ने भएमा सरकार र प्रतिपक्ष मिलेर सहजताको वातावरण मिलाउन अवश्य सकिन्थ्यो तर त्यसो नभई यहाँ त भारत र पाकिस्तानमा भएको धार्मिक दंगाको दृश्य पो देखिन थालेको छ संसद भवनमा ।

तसर्थ बाबु, जे भए पनि अतितका ती द्धन्द्धका घाउहरु विर्सिएर हरेक राजनीतिक पार्टीहरु, बुद्धिजीविहरु, मानवधिकारवादी, प्राध्यापक, पत्रकार आदि सवै तह र तप्काका मानिसहरु सरकारसँग मिलेर आपसी हित र भातृत्वको भावना साटासाट गरी ”सुखि नेपाली, समृद्ध नेपाल” को नारालाई आत्मसाथ गरी विगतमा राजनीतिक क्रान्ती सफल भएको र अव सवै पक्ष मिलि आर्थिक र सामाजिक क्रान्तीतिर होमिनुपर्दछ भन्ने हेतुले काम गर्ने हो भने यो देसको मुहार अवश्य फेरिन्छ तर सवै तहका व्यक्तिहरुले प्रण गर्नु पर्यो कि ”हामी सँधै नैतिकताको धरातलमा हिड्छौ, भ्रष्टाचार गर्दैनौ, एक आपसमा भाइचाराको प्रवृत्ति र सामाजिक सद्भाव कायम राख्छौ, सवै मिलि देसको विकास गर्ने प्रण गछौं” भनेर, तव मात्र यो देसको मुहार पनि फेरिन्छ र तिमी जस्ता युवा युवतीहरु विदेसीने वाध्यता पनि हट्छ । त्यसैले बाबु, तिमी जसरी भएपनि नेपाल आमाको काखमा वसेर दस नंग्रा खियायौ भने अवस्य पनि त्यहाँ कमाउने धन यहाँ पनि कमाउन सक्छौ, यो दुखि आमाको वचनलाई अमृत सम्झेर तिमीजस्ता सारा युवा युवतीहरु जसरी भएपनि मातृभूमीमा आई यहिँको माटोमा रमाएर देसलाई केहि समयमा नै स्वीट्जरल्याण्ड वनाउन सक्छौ किनकी जाँगर हुनेलाई हिरा मोती यहिँ नै फल्छ तर नहुनेलाई सुनको थैलामा वाँधिदिए पनि सँधै अजिंगरको ताल कहिले आहारा मुखमा पर्ला र खाउँला भनेजस्तो ।

ल त वाबु परदेसीएको छोरालाई मैले जसरी विलौना गरे मेरा यी प्रत्येक आँशुका थोपाको मुल्यको अर्थ बुझी छिट्टै मातृभूमी फर्किने छौ भन्दै पत्रबाट विदा । आर्शिवाद ।

लमजुङ्ग, मध्यनेपाल न.पा.२
हालः काठमाण्डौ,
९८५११९२०८८

प्रतिक्रिया दिनुहोस