एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

असार १२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (आज) सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टा–छुट्टै सार्वजनिक गरेको हो ।

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यस पटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक–फरक बनाएर परीक्षा लिइएको थियो ।

नतिजा प्रदेश अनुसार छुट्टाछुट्टै र एकै पटक सार्वजनिक गरिएको छ । गत वर्ष असार ९ गते रिजल्ट भएको थियो । यस वर्षको परीक्षामा प्रदेश–२ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो ।

संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए । जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए ।

२०७५ चैत्र १० गतेबाट परीक्षा सुरु भएको थियो । देशभर कुल परीक्षा केन्द्र १९६९ तोकिएको थियो । प्रदेश नं १ बाट – ८३ हजार ६ सय १८, प्रदेश नं २ बाट– ७० हजार ५ सय १८, प्रदेश नं ३ बाट – १ लाख हजार दुई, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट– ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट – ३५ हजार ६ सय ३४ र सुदुरपश्चिम प्रदेशबाट – ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

परीक्षाको लागि २९ हजार ५ सय ३५ सुरक्षकर्मी परिचालन गरिएको थियो । अनिवार्य छ वटा विषयको प्रदेश अनुसार फरक प्रश्नपत्रको व्यवस्था गरिएको थियो ।

यसरी हेर्नुस् नतिजा

नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results र एनसेल प्रा. लि.को https://www.ncell.axiata.com बाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस