कर्णालीका मुख्यमन्त्री हुम्लामा, विपक्षीले गर्यो सदन अवरोध

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

असार, ९ सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमनत्री महेन्द्बहादुर शाही हेलिकप्टर चढेर हुम्ला पुगेका छन् । असार एक गते उनी नेतृत्वको सरकारले सदनमा ल्याएको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेटमाथि आज आइतबार बस्ने बैठकमा सैदान्तिक छलफल हुने कार्यक्रम तय भएको थियो । तर मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने सदनको महत्वपूर्ण कार्यसुची लत्याउँदै कार्यकर्ता भेटन हेलिकप्टर चढेर हुम्ला पुगे । उनी त्यहाँ नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटि हुम्लाको पहिलो बैठकमा सहभागि हुन पुगेका थिए ।

फाइल तस्बिर

उनी सदनमा अनपस्थित भएको देखेर नेपाली काँग्रेसले सदन अवरुद्ध ग¥यो । सदनमा प्रतिपक्षी दलको नेताले बोल्दा मुख्यमन्त्री अनिवार्य उपस्थित हुने संसदीय प्रचलन रहेको बताउँदै नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले गम्भीर आपत्ती जनाए । जसको फलस्वरुप सभामुख राजबहादुर शाहीले बैठक सथगित गर्नुपर्ने अवस्था सिर्जना भयो ।
मुख्यमन्त्री शाही सदनमा विरलै उपस्थित हुन्छन् । उनी कार्यकर्ता भेटघाट गर्न, कुनै कार्यक्रम उदघाटन गर्न लालायित हुन्छन् । सानो भन्दा सानो कार्यक्रममा सहभागि हुने मुख्यमन्त्री शाहीले सदनलाई कहिल्यै महत्व नदिने गरेको आरोप प्रतिपक्षी दलको छ । ‘सदनको गरिमा बढाउनुको साटो उहाँ आफैं घटाइरहनु भएको छ ।’ नेता शाही भन्छन, ‘उहाँ संसदीय परम्पराका लागि नयाँ व्यीक्त होइन । उहाँ संविधान सभा सदस्य पनि हो । कम्तीमा मर्यादा पनि ख्याल गर्नुपर्छ नि ।’ उनले सदन भनेको मर्यादामा रहने स्थल भएको बताए । ‘सदनमा बजेटको बारेमा महत्वपूर्ण छलफल हुँदैछ । त्यसमा उहाँले कुरा सुन्ने कि नसुन्ने सांसदहरुका ?’ उनी भन्छन्, ‘सदन भन्दा बाहिर भागेर केहि हुनेवाला छैन । संसदीय अभ्यास उहाँले सम्झिनैपर्छ ।’

यता, नेकपाकै सांसद धर्मराज रेग्मी भने कालीकोटकै बैठक भएको भए मुख्यमन्त्रीले प्राथमिकता दिदाँ राम्रै हुने बताए । ‘हुम्लाको बैठकमा जानु भन्दा उहाँले आजको बैठकमा सहभागिता जनाउनु पथ्र्यो ।’ उनले भने, ‘सदन प्रथितपक्षीको हुने भएका कारण उहाँले आइ कुरा सुनेको भए आज सायद सदन स्थगित हुने थिएन ।’

प्रदेशसभा बैठक स्थगित

कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको १० औं बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।
सरकारले आर्थिक वर्ष २०७६÷०७७ का लागि सदनमा असार १ गते प्रस्तुत गरिएको बजेटको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसुची अन्तर्गत शनिवारको बैठकमा सभामुख राजबहादुर शाीले प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीलाई छलफलमा भाग लिन समय दिएका थिए । तर नेता शाही रोष्टममा जानुको साटो आफ्नै स्थानबाट उठेर अनिवार्य रूपमा सदनमा सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थिति नभएसम्म छलफलमा भाग नलिने भन्दै उठिरहे ।

‘सभामुख महोदय, संघमा पनि प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री अनिवार्य उपस्थित हुने प्रचलन छ । सोही प्रचलन अनुसार कर्णाली प्रदेशमा त्यस्तै कायम गर्नुको साटो संसदको मर्यादामा माथि गम्भीर प्रहार भयो,’ नेता शाहीले भने, ‘जबसम्म मुख्यमन्त्रीको उपस्थिति हुँदैन तबसम्म हामी विरोध गरिरहन्छौं ।’ उनले यति भनिरहँदा सभामुख शाहीले भने, ‘माननीय सदस्य, तपाईंले उठाएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ ।

कृपया बसेर बैठक सञ्चालन गर्न सहयोग गर्नुहोस् ।’ तर प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बजेट जस्तो संवेदनशील छलफलमा मुख्यमन्त्रीको सहभागिता नहुनु संसदको प्रतिष्ठामाथि आघात पुगेको बताए ।
‘सभामुखज्यू, मुख्यमन्त्री उपस्थित नभएसम्म यो सदन अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘हामीले बेमौसमी तरिकाले सदन अवरुद्ध गरेका होइनौं ।’

प्रतिपक्षी उठिरहेपछि सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले सभामुखसँग समय मागे । ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न समयमा अनावश्यक रूपमा सदन अवरुद्ध गर्दै आइरहेको छ,’ उनले भने, ‘बजेट प्रस्तुत गर्ने विभागीय मन्त्री हुँदाहुँदै किन मुख्यमन्त्रीको उपस्थिति चाहियो ? उहाँ उपस्थित भए राम्रो तर नभए के उहाँ अन्य बाहिर जानै नमिल्ने भन्ने छ र ?’ उनले सदनको मर्यादालाई कायम गर्दै बैठक सुचारु गराउन सभामुख लाई आग्रह गरे । करीब ६ पटक सभामुख राजबहादुर शाहीले माननीयज्यू बस्नुहोस् भन्दा भन्दै प्रतिपक्षी दलले नमानेपछि सदन १५ मिनेटका लागि स्थगित भएको सभामुख शाहीले घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस