मेलम्चीका बाढीपीडितलाई काभ्रेको सहयोग

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ८, सिन्धुपाल्चोक । मेलम्ची बाढीपीडितलाई काभ्रेपलाञ्चोकका तीन स्थानीय तहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । जिल्लाको पनौती नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाले सहयोग गरेको हो ।

पनौती नगरले मेलम्चीका बाढीपीडितका लागि राहत स्वरुप रु १० लाख आर्थिक सहयोग गरेको छ । बाढीका कारण सङ्कटमा परेका स्थानीयवासीलाई पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले मेलम्ची नगरपालिकालाई रु १० लाख सहयोग दिने निर्णय गरिएको नगरप्रमुखले बताउनुभयो ।

मण्डन देउपुर नगरले मेलम्चीलगायत सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । नगरप्रमुख टोकबहादुर वाइबाले मेलम्ची नगरको ‘मेलम्ची बाढीपीडित तथा पुनःस्थापना कोष’मा रु तीन लाख ५१ हजार, हेलम्बु गाउँपालिकालाई रु तीन लाख र थाङपालधाप गाउँपालिकाको कोषमा रु तीन लाख आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।

यस्तै नमोबुद्ध नगरले पनि पालिका–पालिकाबीच सहयोगको नयाँ शुरुआत भएको जनाउँदै मेलम्ची नगरलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ । नगरका जनप्रतिनिधि र कर्मचारीको सेवा–सुविधा तथा प्रकोप व्यवस्थापन विशेष कोषबाट रु तीन लाख तीन हजार ३३३ तथा ६०० केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको हो ।

मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीका कारण मेलम्चीलगायत आसपास क्षेत्रमा जनधनको ठूलो क्षति पु¥याएको थियो । पछिल्लो विवरणअनुसार हालसम्म बाढीमा तीन जनाको शव फेलापरेको छ । मेलम्ची बजारका दर्जनौं घर डुबानका परेका छन् ।

प्रतिक्रिया दिनुहोस