जबरजस्ती करणी गरेको अभियोगमा दाङका प्रहरी हवलदार चन्दले अदालतबाट सफाई पाए

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  •  खबर 24 नेपाल ५. नम्बर ब्युरो

असार ५, दाङ । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका पश्चिम् दाङका एकजना प्रहरी हवल्दारले झन्डै ४ महिना पछि अदालतवाट सफाई पाएका छन् । ईलाका प्रहरी कार्यालय फुलवारी मझघटुवामा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दमाथि स्थानीय एक दलित महिलाई जवरजस्ती करणी गरेको अभियोग लागेको थियो ।

उक्त अभियोगमा उनी झन्डै ४ महिना बढी प्रहरी हिरासतमा बसेका थिए । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ निवासी चन्दले गत फागुन २ गते राति सवा १० बजेतिर घरमा साना बच्चा बच्ची संग बस्दै आएकी एक महिलालाई पानी खाने बाहानमा भित्र प्रवेश गरि जवरजस्ती करणी गरेको अभियोग लागेको थियो । घटना लगतै पीडित महिलाले हारगुहार गरेपछि गाउँलेहरुले राति नै प्रहरी हवल्दार चन्दलाई लखेट्दै प्रहरी कार्यालय सम्म पुर्याएको बयान दिएका थिए ।

त्यसपछि मदिराले मातेका चन्द भागेर ईप्रका भित्र छिरेपछि स्थानीयले जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेलाई फोन मार्फत घटना अवगत गराएका थिए । लगतै प्रहरी गएर प्रहरी हवल्दार चन्दलाई पक्राउ गरि ईप्रका तुलसीपुरमा ल्याएर थुनेको थियो । त्यसपछि हवल्दार चन्दका विरुद्ध विश्वकर्मा थरकी २१ बर्षीया ती पीडित महिलाले ईप्रका तुलसीपुरमा जाहेरी दिएकी थिइन । त्यतिबेला प्रतिक्रिया दिदै पीडित महिलाले मदिराले मातेका हवल्दार चन्दले उनको घरको आसपासमा होहल्ला भएको भन्दै ढोका खोल्न लगाएर जवरजस्ती करणी गरेका बताएकी थिइन । । त्यतिबेला पीडित महिलाले आफ्ना पति रोजगारीको लागि छिमेकी देश भारतमा भएको बताएकी थिइन ।

त्यसपछि जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे र ईप्रका तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाही लगाएका प्रहरी अधिकारी फूलवारी गाउँमा पुगेर घटनावारे सार्वजनिक रुपमै छलफल गरेका थिए । प्रहरी हवल्दार चन्दलाई दाङ देउखुरी जिल्ला अदालतले उक्त अभियोगमा सफाई दिएको छ । अदातलको सफाई पछि हवल्दार चन्द झन्डै १५ दिन अगाडि थुना मुक्त भएका थिए ।

आर्थिक चलखेलको आशंका

यसै विषयमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले पीडित पक्ष पैशाको लालचमा परेर वयान बदलेको हुन सक्ने आशंका गरे । ‘प्रहरीलाई समस्या यही हुन्छ, हामीले मुद्दा चलाउँछौं,तर त्यो बीचमा पीडित पक्ष आर्थिक लालचमा पर्छन र वयान बदल्छन् । त्यसले प्रहरीलाई उल्लु बनाउने खेल हुँदै आएको छ,’ एसपी पाण्डेले भने । उनले ठूलो आर्थिक चलखेलको प्रलोभवनमा पारेर पीडितलाई पीडकका आफन्तले वयान फेर्न लगाएको हुनसक्ने आशंका व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस