अफगानिस्तान विरुद्ध इंग्ल्याण्डको फराकिलो जित, बने नयाँ नयाँ कीर्तिमान

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

असार ४, काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ । ३९८ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २४७ रन मात्रै बनाउन सक्यो ।

अफगानिस्तानका लागि हस्मतउल्लाह शाहिदीले ७६, राहमत शाहले ४६, अस्घर अफगानले ४४ र गुल्बादिन नाइबले ३७ रन बनाए । बलिङतर्फ जोफ्रा आर्चर र आदिल रशिदले समान ३-३ विकेट लिए । यो जारी विश्वकपमा कुनै पनि टिमको सबैभन्दा ठूलो जित हो ।

यस म्याचमा बनेको यो एकमात्र रेकर्ड होइन । सबैभन्दा धेरै छक्का प्रहारदेखि सबैभन्दा धेरै स्कोर र सबैभन्दा महंगो बलिङसम्मका रेकर्डहरु पनि यस म्याचमा बनेका छन् । इंग्ल्यान्डले ठूलो लक्ष्य दिनेक्रममा कप्तान इयोन मोर्गनले कीर्तिमानी ब्याटिङ गरे । सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको विश्व रेकर्ड बनाएका मोर्गनले ७१ बलमा १४८ रन बनाए । उनले १७ छक्का र चार चौका प्रहार गरे । ३९७ रनको योगफल ४४ वर्षको विश्वकप इतिहासमा इंग्ल्याण्डको सबैभन्दा ठूलो स्कोर हो । सबैभन्दा ठूलो स्कोरको रेकर्ड अस्ट्रेलिया (४१७/६)को नाममा छ ।

इयान मोर्गनले यस म्याचमा ७४ बलमा १४८ रन बनाए । उनले ५७ बलमा शतक बनाए । यो विश्वकपमा चौथो छिटो शतक बनाएको रेकर्ड हो । सबैभन्दा छिटो ५० बलमा शतक बनाएको रेकर्ड भने केभिन ओब्रायनको नाममा छ । इंग्ल्यान्डको उच्च स्कोर बनाउन जोनी बैरस्टोव र जोइ रुटले पनि उत्कृष्ट प्रदर्शन गरे । जोनीले ९० रन बनाए । ९९ बलको सामना गरेका उनले ८ चौका र तीन छक्का प्रहार गरे ।

उच्च रन बनाउन कप्तान मोर्गन र रुटले १८९ रनको साझेदारी गरे । यो विश्वकपको इतिहासमा इंग्ल्याण्डको सबैभन्दा ठूलो पार्टनरसिपको रेकर्ड हो । बलिङतर्फ अफगानिस्तानका दवलत जाड्रन र गुल्बादिन नाइबले समान ३-३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस