डेंगुको प्रकोप तीब्र, नियन्त्रणमा ढिलाई

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिईरहेको छ तर पनि नियन्त्रण र अनुसन्धानमा ढिलाई नै छ ।

सुनसरीको धरानबाट एक महिनाअघि सुरु भएको डेंगुबाट ५ सय ७६ जना बिरामी भइसकेका छन् ।डेंगु प्रकोप नियन्त्रण तथा व्यवस्थापन र थप अनसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टिम प्रभावित स्थलमा गएका छन् । हरेक वर्ष फरक-फरक जिल्लामा डेंगुले प्रकोपको रूप लिने गरेको छ ।

स्वास्थ्यसम्बन्धी धेरै जिम्मेवारी प्रदेश र स्थानीय तहलाई सुम्पिएको छ । विशेषज्ञ तथा दक्ष जनशक्ति केन्द्रमा छन् । न समन्वय छ न त रोगबारे अनुसन्धान नै भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले प्रदेशमा अनुसन्धान गर्ने दक्ष जनशक्ति नभएको बताए । “डेंगुले खैलाबैला मच्चाएको छ । अनुसन्धान गर्न स्थानीय तहमा जनशक्ति छैन”, उनले भने, “काठमाडौंबाट अनुसन्धान गर्न पठाउनु भनेको पुरानै सोच भइहाल्यो ।” अनुसन्धान लामो समय लाग्ने भएकाले प्रदेशबाटै यो कार्य गरिनुपर्ने उनको सुझाव छ ।

स्वास्थ्य अनुसन्धान परिषदका पूर्व सदस्यसचिव एवं जनस्वास्थ्य विज्ञ डा. खेम कार्कीले अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा योजना कार्यान्वयन गर्ने विषय सरकारको प्राथमिकतामा नपरेको बताए ।

प्रतिक्रिया दिनुहोस