रुपैडिहा प्रहरीले समात्यो २५ हजार थान लागू औषध सहित मेडिकल सञ्चालक पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  •  महेन्द्र सिंह, बाँके

जेठ ३१, बाँके । भारतीय प्रहरीले रुपैडिहा बजारमा रहेको मेडिकलहरुमा भैरहेको लागुऔषध बिक्री कारोबारमा निगरानी बढाएको छ । स्थानीय सञ्चारमाध्यमको निरन्तर दबाबपछि प्रहरीले निगरानी र कारवाही सुरु गरेको हो ।

दशकौं देखि रुपैडिहाका मेडिकलबाट भैरहेको लागुऔषधको कारोबारमा वेवास्ता गरेको प्रशासनले सञ्चारमाध्यममा समेत कारवाही नभएको भन्दै निरन्तर समाचार प्रकाशनमा आएपछि गत जेठ २४ गते पहिलो पटक कारवाही सुरु गरेको थियो । विना रोकटोक लामो समयदेखि खुलेआम रुपैडिहाका मेडिकलमा प्रहरी निगरानी बढाएपछि कारवाही पनि थालिएको हो । गत जेठ २४ गते ड्रग इन्स्पेक्टर राजु रुपैडिहा आएर लागुऔषध विरुद्धको कारवाहीको सुरुवात गरेका हुन् । उनी रुपैडिहा पुगेको खबर प्राप्त गरेका मेडिकल सञ्चालकले दिउँसै मेडिकल बन्द गरेर फरार भएका थिए । उनले रियाज मेडिकल सेन्टरमा छापा मारेर २५ हजार थान लागुऔषध फेला पारेका थिए ।

त्यसक्रममा पसलमा रहेका बिक्रेतालाई समेत नियन्त्रणमा लिएर कारवाही अगाडि बढाइएको थियो । बिहीबार रुपैडिहा प्रहरीले उक्त मेडिकलका सञ्चालकलाई समातेका छन् । विना अनुमतिमा चकिया रोडमा सञ्चालित मेडिकल स्टोरका सञ्चालकलाई रुपैडिहाका थाना प्रभारी मधुपनाथ मिश्राले पक्राउ गरेका हुन् । सो क्रममा ६५ ग्राम लागुऔषध ब्राउन सुगर रियाजसँग फेला परेको थियो । ‘मेडिकल सञ्चालक पनि पक्राउ परेका छन्’, रुपैडिहामा भैरहेको लागुऔषधको कारोबार विरुद्ध कलम चलाइरहेका पत्रकार नवि अहमदले भने, ‘सञ्चारमाध्यमबाट निरन्तर समाचार आएपछि प्रहरीले कारवाही गरेको हो । रुपैडिहा आएका बेला ड्रग्स इन्स्पेक्टर राजुले लागुऔषधको कारोबार विरुद्ध निरन्तर कारवाही जारी राख्ने बताएका थिए ।

रुपैडिहामा अल्ट्रोरेक्टस, टोरेक्स, नाइट्रोजिन, नाइट्रावेट लगायतका औषधी मेडिकलबाट बिक्री हुने गरेका छन् । नेपालगन्जमा नाकाबाट अवैध रुपमा भित्रिने लागुऔषध समेत रुपैडिहामै खरिद बिक्री हुने गरेको छ । भारतबाट नेपाल हुने लागुऔषधको तस्कारीका कारण नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको छ । भारतमा लागुऔषध नियन्त्रणका लागि ठोस प्रयास नभएको अवस्थामा प्रहरीले सुरु गरेको कारवाहीले केही आशा भने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस