नेकपा एमाले कञ्चनपुरद्वारा भौतिकमन्त्री सोडारीलाई कारबाही गर्न माग

Khabar24Nepal Author Logo..
खगेन्द्र अबस्थि पढ्न लाग्ने समय : २ मिनेट

जेठ २९, कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई कारबाही गर्न माग गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिंह रावलमाथि केही दिनअघि मन्त्रालयमा दुर्व्यवहार गरेको भन्दै एमाले कञ्चनपुरले मन्त्री सोडारीमाथि कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाउन माग गरेको हो ।

नेकपा एमाले कञ्चनपुरका अध्यक्ष बीर बहादुर थापा (पातल) द्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको निर्देशन सहितको पत्र बुझाउन गएको बेला आफ्नै कार्यकक्षमा मन्त्री सोडारीले एमाले प्रदेश कमिटीका सचिव रावलमाथि गरिएको दुर्व्यवहार भर्त्सना योग्य र निन्दनीय रहेको उल्लेख छ ।

मन्त्री सोडारीले गल्ती स्विकार्नुको सट्टा उल्टै उजुरी गर्न जानु मन्त्री पदमा बसेको व्यक्तिका लागि अशोभनीय भएको शनिबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ । मन्त्री सोडारीलाई कारबाहीको लागि मुद्दा दर्ता गरिसक्दा पनि कारबाही गर्नुको सट्टा उल्टै दोषी (मन्त्री) को तर्फबाट समेत उजुरी लिएर मुद्दा कमजोर गर्ने कैलाली प्रशासनको कार्य प्रति आपत्ति जनाउँदै तत्काल कानुन बमोजिम कारबाही अगाडि बढाउन माग गरिएको छ ।

केही दिनअघि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वास मत नदिन भन्दै नेकपा एमालेबाट सम्प्रेषित निर्देशन सहितको पत्र बुझाउन मन्त्रालयमा जाँदा मन्त्री सोडारी र एमाले प्रदेश कमिटीका सचिव रावलबिच विवाद भएको थियो । त्यस क्रममा आफूमाथि दुर्व्यवहार भएको दुवै पक्षको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस