अघोषित लोडसेडिङले नेपालगन्ज बासीहरु आक्रशोमा, विद्युतको अनियमिता जारी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

महेन्द्र सिंह, नेपालगन्ज

जेठ २७, बाकें । नेपालगन्जको तापक्रम ४० डिग्रीको हाराहारीमा रहने गरेको छ । तातो हावा र चर्को गर्मी झेलिरहेका नेपालगन्जबासी घरभित्र पनि आराम बस्न सक्ने अवस्था छैन । त्यसको कारण भनेको विद्युत अनियमितता हो ।

गत साता भन्दा उच्चतम तापक्रममा कमी आएपनि बढ्दै गएको न्यूनतम तापक्रमले गर्मी झनै बढाएको छ । नेपालगन्जमा उम्सोको अवस्था छ । गत सातासम्म २२-२४ डिग्री सेल्सियसमा रहेको नेपालगन्जको न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस नाघेको छ । अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको नेपालगन्जको तापक्रम केही दिन अघि बर्षा भएपछि ३९ डिग्रीमा झरेको छ । चर्को गर्मीमा विद्युत मात्रै नियमित भै दिने हो भने धेरै राहत हुन्थ्यो । विद्युत नियमितताका पहल पनि भैरहेका हुन्छ । तर, चर्को गर्मीका बेला विद्युत अनियमितता झन् बढ्दै जान्छ ।

प्रत्येक बर्ष गर्मीमा हुने अनियमितताको समस्या यसबर्ष पनि समाधान भएको छैन । कहीकतै मर्मत गर्नु परे नेपालगन्ज वितरण केन्द्रले विद्युत अनियमित हुने समयको जानकारी दिन्छ । तर, त्यसबाहेक हुने अनियमितताको सूचना प्राधिकरणले दिने गरेको छैन ‘विद्युत के कति कारणले अनियमित भएको हो जानकारीसम्म पाउन सकिंदैन’, नेपालगन्ज–५ की सुमित्रा भट्टराई भन्छिन्, ‘गर्मीमा झनै पीडा दिने काम प्राधिकरणले गरेको छ ।’ दिनभरको चर्को गर्मी सहने नेपालगन्जबासी रातीको समयमा समेत छिनछिनमा जाने विद्युतका कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन । ‘दिनभर गर्मीमा काम गर्छौ, विद्युत गैरहँदा राम्रोसँग सुत्न समेत पाइएको छैन’, इ रिक्सा चालक दिनेश काँदु भन्छन् । एक घण्टामा दुई÷तीन पटकसम्म विद्युत काटिने गरेको रुस्तम अली बताउँछन् । ‘कम्तिमा लोडसेडिङको जानकारी भए त्यसै अनुसार योजना बनाउन सकिन्थ्यो’, उनी भन्छन्, ‘हाल दिनमा कतिपय बत्ती जान्छ भन्ने गनीसाध्य छैन ।’ पूर्व सूचना विना हुने विद्युत अनियमितताले मेशिनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् । ‘चलिरहेको मेसिन एक्कासी पटकपटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ’, नेपालगन्ज–१८ का दिपेश आचार्य भन्छन् ।

लोडसेटिङ्गको विकल्पमा जेनेरेटर र इन्टभर जडान गरिएपनि लामो समय विद्युत अवरुद्ध हुँदा  ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्को तिर लागत समेत बढ्न जाने आचार्य बताउँछन् । विद्युत अनियमितताले होटल व्यवसायीको पनि लागत बढ्दै गएको हो । जेनेरेटको प्रयोग गर्दा आउने लागतका कारण अनावश्यक नोक्सानी व्यहोर्नु परिरहेको होटल व्यवसायीहरुको भनाइ छ । नेपालगन्जका लागि भारत र नेपाल दुवै तर्फबाट विद्युत आपूर्ति हुने गरेको छ । गर्मीमा नेपालगन्जमा २४ एमभीए सम्मको विद्युत माग हुने गरेको छ । जसमा १२ एमभीएसम्मको विद्युत भारतबाट प्राप्त हुने गरेको छ । ह्वात्तै बढ्ने माग र आपूर्तिको कमीका कारण विद्युत अनियमित हुने गर्छ । बर्षा नहुँदासम्म नेपालगन्जको तापक्रम घट्ने छैन । यद्यपि, जल तथा मौसम विज्ञान विभागले आज सोमबार पश्चिम क्षेत्रमा बर्षाको सम्भावना रहेको जानकारी दिएको छ । विभागले आज मेघ गर्जन सहित हावाहुरीको सम्भावना रहेको बताएको हो

प्रतिक्रिया दिनुहोस