बङ्गलादेशबाट आयो साढे ३२ हजार मेट्रिकटन मल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ २६, पर्सा । बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटूजी) मार्फत रासायनिक मल खरिद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो ।

जीटूजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सो कार्यालयका प्रवन्धक गोरखनाथ केसीले बताए । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गबाट वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयमा आउने छ ।

सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नु पर्नेमा अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाई भएको प्रवन्धक केसीले बताए । उनकाअनुसार बाँकी रहेको मल छिट्टै नै उपलब्ध गराउन नेपाल सरकार तथा बङ्गलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउन लागेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल २ हजार ७ सय मेट्रिकटन, डिएपी एक हजार ४ सय २ मेट्रिकटन र पोटास एक हजार २ सय ८० मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ । पर्सा जिल्लास्थित १ सय ३१ थोक विक्रेतामार्फत सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई एक पटकमा एक सय ३० बोरासम्म मल दिने गरेको छ । विक्रेताहरूले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल विक्री गर्ने गरेको छ । कतिपय विक्रेताले किसानसँग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल विक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक विक्रेतालाई कारबाही गर्नुपर्ने माग किसानको छ ।

पर्सामा ९० प्रतिशत किसान व्यवसायिक रूपमा धान खेती गर्दै आएका छन् । पर्सामा कूल ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस