नक्कली शिक्षक खडा गरि अनियमितता गर्ने प्रधानाध्यापक पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

जेठ ९, बाग्लुङ । माझखर्क प्राथमिक विद्यालय,बाग्लुङका तत्कालीन प्रधानाध्यापक विजय बहादुर थापा र शिक्षक आकाश थापा लाई आज अख्तियारले आरोपपत्र दायर विशेष अदालतमा दर्ता गरेको छ ।

बाग्लुङ जिल्ला साविक भिमगिठे गा.वि.स. हाल बडीगाड गाउँपालिका ७ मा रहेको श्री माझखर्क प्राथमिक विद्यालयका तत्कालीन प्र.अ. विजय बहादुर थापाले सोही विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा नामको तलब आफैंले लिदैं आएको पाइएको हो ।

२०७२ चैत्र देखि विद्यालयमा अनुपस्थित भई जापान गएकोमा प्र. अ ले शिक्षिका चन्दा थापाको नाममा २०७३ फागुनसम्मको तलब भत्ता माग गरी खाई मासी भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्रधानाध्यापक थापाले अस्थायी शिक्षिका चन्दा थापा लामो समयसम्म विद्यालयमा नरहेको अवस्थामा विदा समेत स्वीकृत वा सोको जानकारी साविक जिल्ला शिक्षा कार्यालय, बाग्लुङलाई समेत नगराई बदनियतपूर्वक निजको सट्टामा कानूनी प्रक्रिया विपरीत आकाश थापा र अस्मिता घर्तीलाई सट्टा शिक्षक नियुक्ति गरी मिति २०७२ चैत देखि २०७३ फाल्गुन सम्मको तलवभत्ता रू.२,८१,३०१। रकम नक्कली कागजात खडा गरी बदनियतपूर्ण तरिकाबाट निकासा माग गर्नुको साथै खर्च समेत गरेको देखिएको हो ।

प्रधानाध्यापक विजय बहादुर थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुने मुद्धा दर्ता गरिएको छ ।

यस्तै सट्टा शिक्षकमा अध्यापन गराउने आकाश थापाले गैरकानूनी तवरले चन्दा थापाको नामबाट तलब निकासा माग गर्न र निजको हाजिर कापीमा २०७३ असोज मसान्त सम्मको नक्कली हाजिर गरी सरकारी रकम लिन र खान मतियारको भूमिका निर्वाह गरेको हुँदा पनि कानुन कमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस