समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

जेठ ६, काठमाडौं ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कुल नयाँबानेश्वरमा अध्यनरत विद्यार्थीहरू तथा अभिभावकहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले लागुऔषध, साइबर क्राइम, सामाजिक संजाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिंदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिनुभयो । उहाँले सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन आग्रह गर्नुभयो ।

प्रहरीले गरेका धेरै कार्यहरू बाहिर नआउने तर एउटा घटना बाहिर आउँदा समग्र नेपाल प्रहरीको सुरक्षा व्यबस्थामा प्रश्न उठाउने गरिएको स्मरण गर्दै क्षेत्री भन्नुभयो “एउटा ठाउँमा चोरी भएमा चोरी बढयो भन्ने तर चोरी नियन्त्रणको लागि दिनरात प्रहरीले गरेका कार्यहरूको कहिले चर्चा हुने गरेको छैन ।” विद्यार्थीहरूको जिज्ञासाको जवाफ दिँदै क्षेत्रीले प्रविधिको प्रयोग बढ्दै संसार साँघुरिएको अबस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढदै गएको र सामाजिक संजाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिकाबीच पासवर्ड आदान प्रदान गरी बालबालिकाले के गर्दैछन भनी निगरानी गर्ने गरिएमा ठुलो घटनाबाट बच्न र बचाउन सकिने बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वर, काव्य स्कुल (प्रहरी-विद्यालय समन्वय समिति) नयाँबानेश्वर र सामुदायिक सेवा केन्द्र बानेश्वर-१० को आयोजनामा संचालित कार्यक्रममा काव्य स्कुलका विद्यार्थीहरूले “नेपाली जनजनको मनमनमा नेपाल प्रहरी नेपाल आमाको सच्चा पहरेदार नेपाल प्रहरी” भन्ने बोलको गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी, अभिभावक प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस