कारमा मृत फेला परेका ३ बालकको शरीरमा कुनै चोटपटक छैन : एसपी चन्द

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २१, दाङ । तुलसीपुरको स्याउली बजारमा बैशाख १८ गते बेलुका एउटै कार भित्र मृत फेला परेका तीन बालकको शबको पोष्ट मार्टम भएको छ । पोष्ट मार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरिरमा कुनैपनि चोट पटक नदेखिएको भन्ने जानकारी आएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

दाङमा पोष्टमार्टम गर्ने बिशषेज्ञ नभएपछि बुटवलबाट तुलसीपुरमा बिशषेज्ञ डाक्टर झिकाएर मृतक तीनैजना बालकको पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टम रिपोर्ट अनुसार तीनै जना बालकको शरिरमा कुनैपनि चोटपटक वा घाउखत नरहेको कुरा जानकारी आएको एसपी चन्दले बताए ।

पोष्टमार्टम रिपोर्टले तीन बालकको मृत्यु कर्तब्य गरि हत्या भएको भन्ने नदेखिएको जानकारी दिए । तर, लक गरि राखेको कार भित्र तीन बच्चा कसरी भित्र पशे भन्ने कुरा रहस्यमय रहेको एसपी चन्दले बताए । एसपी चन्दले भने – ‘ चालकले माघ १ गतेदखि कार लक गरि पार्किङमा राखेको हुँ भन्ने बयान गरेका छन्, त्यसो हो भने तीन बालक कसरी कार भित्र प्रबेश गरे त्यो कुरा रहस्यमय छ ।’

प्रहरीले कारको लक तोडेरै तीन बालकको शव बैशाख १८ गते राति मात्रै निकालेको थियो । भारतीय नम्बर प्लेटको पार्किङ कार भित्र तीन बालक मृत अवस्थामा फेला परेपछि घटनाको सही ढंगले अनुसन्धान गर्न सकियोस भनेर प्रहरीले बाँकेबाट तालिम प्राप्त कुकुर र तालिम प्राप्त प्राबिधिक ल्याएको थियो । उनीहरु आएर आफ्नो अनुसन्धान सकेपछि मात्रै प्रहरीले कारको लक फोडेर शवहरु झिकेको थियो ।

कारभित्र मृत भेटिएका तीन बालक तुलसीपुर ६ बरुवागाउँ निवासी ६ वर्षीय करण परियार , ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र ९ वर्षीय सन्दिप परियार रहेको प्रहरीले जनाएको छ ।

बैशाख १८ गते बेलुका स्थानीयले लामो समयदेखि पार्किङ गरि राखेको कारको सबै बत्तिहरु बलेको देखेपछि किन बत्ति बल्यो ? भनेर हेर्न भनेर गएपछि कार भित्र तीन बालकको शव देखेका थिए । चोट पटकले उनीहरुको मृत्यु भएको हैन भन्ने पोष्ट मार्टम रिपोर्टले देखाएपनि अरु कुन कारणले उनीहरुको मृत्यु भएको हो ? त्यो कुरा रिपोर्टले देखाउन सक्ने प्रहरीले आशा ब्यक्त गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सीसी ०८८५ नम्बरको कारभित्र बैशाख १८ गते बेलुका तीन मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस