दाङको घोराही कारागारमा कैदी बन्दीहरु बीच झडप हुँदा ५ जना घाइते एक जनाको हात बाचियो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

वैशाख २१, दाङ । दाङको घोराहीस्थित कारागार भित्रै कैदी बन्दीका बीचमा आपसमा मध्य रातमा झडप भएको छ । उक्त झडपमा परि पाँच जना घाइते भएका छन् भने त्यसमध्य एकजनाको हात फ्याक्चर भएको छ । झडपमा परि भाई नाईके डम्मर कुँवरको बाँया हात फ्याक्चर भएको छ भने नाईके अर्थात चौकीदार विप्लव सेन वली, पूर्व दाई नाईके हिमाल डाँगी, दाई नाईकहरु आदित्य बगाले र प्रेम प्रकाश वली पनि घाइते भएका छन् । घाइते सबैको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

कारगार भित्र नाईकेले आर्थिक अनियमिता गरेको तथा चरम गुटवन्दी गरेको आरोप लगाउँदै पूर्व दाई नाईके मिहाल डाँगीको समुहले नाईकेको समुहमाथि शुक्रवार विहान डेढ बजेतिर एकाएक आक्रमण गरेको थियो । नाईकेको समुहको व्यवहार प्रति असन्तुष्टि जनाउँदै पूर्व दाई नाईके हिमाल डाँगी,प्रेम पुन, किशोर लामा र देबबहादुर वलीको समुहले आक्रमण गरेको खुल्न आएको छ ।

एकले अर्काेमाथि हैकम जमाउन खोज्दा झडप
कारागार भित्रै फरक मत राख्नेमाथि एक समुहले अर्कौ समुह माथि हैकम जमाउन खोज्दा कैदी बन्दीको बीचमा आपसमा झडप भएको विश्वसनिय स्रोतले बताएको छ । आफु समर्थकलाई हरेक व्यवस्थापनदेखि खानामा समेत विभेद गरेका कारण अधिकारको लागि लडाई लड्नु परेको असन्तुष्ट पक्षले बताएको एकजना प्रहरी अधिकारीले जानकारी दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रशाद रिजालले आफु सुरक्षा समितिको बैठकका कारण रोल्पा जिल्ला गएको हुँदा झडपको कारण बुझ्न नपाएको बताए । उनले प्रारम्भिक जानकारी अनुसार व्यवस्थापन पक्ष र खाना लगाएको विषयलाई लिएर झडप भएको भन्ने जानकारी आँफुलाई दिइएको र कुटाइ खाने ५. जनालाई आइतबार तुल्सीपुर कारागारमा पठाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
यसैबीच जिल्ला कारागारका जेलेर तथा शाखा अधिकृत विष्णुप्रशाद पाण्डेले घटानाको बारेमा सत्य कुरा छानविन गर्न शाखा अधिकृत अम्मरराज अधिकारीको संयोजकत्वमा ३ सदस्य छानविन समिति गठन भएको जानकारी दिएका छन् । उक्त समितिको सदस्यहरुमा नेपाल प्रहरीका एकजना इनिस्पेक्टर र सशस्त्र प्रहरीका डिएसपी रहेका छन् । छानविन समितिलाई तीन दिन भित्र सत्य तथ्य सार्वजनिक गर्न भनिएको छ । जेलेर पाण्डेले घोराही कारागारमा जम्मा ६० जना कैदीबन्दी अटाउने क्षमता भएपनि हाल ३ सय १७ कैदी वन्दी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस