वैशाख ९ , काठमाडौँ । नेपाली काङ्ग्रेसले सरकारकाे तर्फबाट सार्वजनिक भएका अध्यादेशहरु आपत्तिजनक र खेदजनक भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता लिन सरकारसँग माग गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले सरकारले सोमबार सार्वजनकि गरेका विधेयकहरु फिर्ता लिन माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका हुन । सङ्कटको घडीमा कोरोनासँग लड्न सरकारलाई प्रतिपक्षी दलले समेत सम्पूर्ण सहयोग गरिरहेको अवस्थामा गलत नियत र गलत समयमा नियोजित निर्णय गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ ।
जनताहरु घरभित्रै कष्टकर जीवन बिताइरहेको उल्लेख गर्दै उनले जोखिम मोलेर काम गरिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग अध्यादेशको कुनै सम्बन्ध नभएकाले फिर्ता लिनुपर्ने बताए ।