ईसाई धर्मावलम्बी लक्षित बम आक्रमण, श्रीलंकामा १३८ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

काठमाडौं– श्रीलंकामा भएको श्रृङखलाबद्ध बम आक्रमणमा परी मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको छ ।

मुख्य शहर कोलम्बोसहित ३ ओटा जिल्लाका ३ चर्च र३ स्टार होटलमा भएको बम आक्रमणमा परी ५ सय ६० भन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हरेक वर्षको अप्रिल महिनाको पूर्णिमा पछिको पहिलो आइतबार ‘इस्टर सनडे’ नामक पर्व मनाउन भेला भएकालाई लक्षित गरी चर्च र होटलमा आक्रमण गरिएको जनाइएको छ ।

तस्वीर– डेली मिरर श्रीलंका

आक्रमणकारीले श्रीलंकाको राजधानी कोलम्बोसहित नेगम्बो र बट्टिकोलामा एकसाथ आक्रमण गरेका थिए ।

श्रीलंकाली अनलाईन पत्रिका डेली मेलले आक्रमणबाट मर्नेको संख्या १ सय ३८ पुगेको जनाएको छ । नेशनल हस्पिटलका निर्देशक अनिल जासिङ्हालाई उदृत गर्दै डेलि मिररले १ सय ३८ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

तस्वीर– एएफपी

जसअनुसार कोलम्बोमा ४९, नेगम्बोमा ६२ र बट्टिकोलामा २७ जनाको ज्यान गएको डेलि मिररले लेखेको छ ।

तस्वीर– डेलि मिरर श्रीलंका

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आक्रमणको निन्दा गरेका छन् । साथै सबैलाई शान्त रहन उनको आग्रह छ ।

आक्रमणलगत्तै त्यहाँका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन् । त्यस्तै, श्रीलंकामा सेनालाई उच्च सतर्कतामा राखिएको तथा कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था उच्च पारिएको छ ।

बम आक्रमणपछि श्रीलंकाली सरकारले सोमबार र मंगलबार सार्वजनिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै विमानस्थल र अन्य संवेदनशील स्थानहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तस्वीर– एएफपी

स्थानीय अधिकारीले ईसाई धर्मावलम्बीलाई लक्षित गरी बम आक्रमण गराइएको प्रतिक्रिया दिएका छन् । आक्रमणको जिम्मा भने कुनै पनि संगठन लिएको छैन । यद्यपि, त्यहाँका अल्पसङ्ख्यक इसाई धर्मावलम्बीहरुले निकै लामो समयदेखि बहुसङ्ख्यक बौद्ध धर्मालवलम्बीका उग्रवादीहरुले आक्रमण गर्ने गरेको बताउँदै आएका छन् ।

पछिल्ला केही वर्षयता श्रीलंकामा धार्मिक समुदायबीच आक्रमणका घटनाहरु हुने गरेका छन् । केही वर्ष अघिमात्र श्रीलंकामा बहुसङ्ख्यक सिंहाली बौद्ध धर्मावलम्बी र मुसलमान धर्मावलम्बीबीच आक्रमणका घटनाहरु भएका थिए ।

सन् २००९ मा सकिएको गृहयुद्धपछि तुलनात्मक रुपमा शान्त रहेको श्रीलंकामा भएको यो केही दशक यताकै सबैभन्दा घातक बम आक्रमण हो ।

करिब २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलंकामा ७० प्रतिशत बौद्ध धर्मावलम्बी, १३ प्रतिशत हिन्दु, १० प्रतिशत मुसलमान तथा करिब ८ प्रतिशत इसाई धर्मावलम्बी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस