विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख ६, काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट नियन्त्रित लागूऔषध ५० एम्पुल डाइजेपाम, ४८ एम्पुल फेनारगन र ५० एम्पुल नुर्फिन सहित पर्वत कुश्मा नगरपालिका-१३ सिस्नेपानी बस्ने २२ वर्षीय बिदुर नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । भैरहवाबाट पोखरातर्फ आउदै गरेका सवारी साधनहरू जाँच गर्नेक्रममा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालत मार्फत २० दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

झापा, दमक नगरपालिका-६ नमुना मार्गबाट २९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित भारत घर भएका २६ वर्षीय सिद्धिक आलम भन्ने व्यक्तिलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-१० टोलटोले बस्ने २२ वर्षीय बादल गुरुङलाई नियन्त्रित लागूऔषध ३ सय ४५ ट्याब्लेट फेनारगन र ३ सय ४५ ट्याब्लेट ट्रामा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बादलले लागूऔषधको विक्री गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस