दार्चुला–तिङ्कर सडकको तीन मन्त्रीद्धारा निरीक्षण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, दार्चुला । नेपाल सरकारका तीन जना मन्त्रीले महाकाली करिडोर अन्तरगत निर्माणाधिन दार्चुला–तिङ्कर सडकको कार्यप्रगतिबारे हवाइ निरीक्षण गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नासहित राजनीतिक, प्रशासनिक र प्राविधिक व्याक्तिहरुको टोलीले आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला–तिङ्कर सडकको निरीक्षण गर्नुभएको हो ।

कैलास मानसरोबर जोड्ने छोटो दुरीको यो सडक धार्मिक पर्यटकिय दृष्टिकोणका साथै अन्तरराष्ट्रिय व्यापारिक महत्वका हिसाबले समेत प्रचुर सम्भावनायुक्त सडकका रुपमा रहेको छ । २०६४।०६५ सालबाट निर्माण सुरु गरिएको दार्चुला–तिङ्कर सडक निर्माणले १२ वर्ष बढि हुँदा पनि लक्ष्य तथा जनअपेक्षा अनुसार गति लिन नसकेको गुनासो छ । यो सडकमा अहिलेसम्म दार्चुला सदरमुकाम खलंगादेखि सुन्सेरासम्म ४४ किलोमिटर मात्रै ट्र्याक खुलाइएको छ । अहिले सडक निर्माणको लागि नेपाली सेनाको निर्माण दल व्यास गाउँपालिकाको सुन्सेरा र दुम्लीङमा क्याम्प राखेर निर्माण कार्य सुरु गर्ने तयारी गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा भौतिक पुर्वाधार, अद्योग र सामान्य प्रशासन मन्त्रीका साथै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्र नाथ श्रेष्ठ लगायत मन्त्रालयका अधिकारी, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य, पुर्वमन्त्री लगायत विशिष्ट व्याक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस