आज चैतेदशैं र रामनवमी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

चैत ३०, काठमाडौं । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् ।

चैत्र महिनामा पर्ने नवरात्रिलाई चैते दसैं भनिन्छ। यसमा पनि बडादसैंमा जस्तै भगवती जगदम्बा दुर्गा भवानीको विशेष आराधना, उपासना गरिन्छ। यद्यपि वर्षभरिका चारवटै नवरात्र चैत्र शुक्लपक्ष, आषाढ शुक्लपक्ष, आश्विन शुक्लपक्ष र पौष शुक्लपक्ष मा शक्तिस्वरूपा भगवतीको पूजाआराधना गर्ने विधान छ।

चैत्र महिनामा पर्ने नवरात्रिलाई वासन्ती नवरात्र भनिन्छ। यस नवरात्रमा स्वयं मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रले भगवतीको उपासना गरी शक्ति आर्जन गर्नुभएको प्रसंग रामायणलगायत इतिहास पुराणमा पाइन्छ। रावणसँगको युद्धका क्रममा शक्तिहीन हुँदा भगवानले आद्याशक्ति भगवती जगदम्बाको उपासना गरी भगवतीबाट विशेष शक्ति र आशीर्वाद प्राप्त गर्नुभयो। यसरी शक्ति प्राप्त भएपछि रावणलाई पराजित गरी विजयोत्सवका रूपमा भगवानकै आज्ञाले विजया दशमी मनाउने गरिएको हो।

मार्कण्डेय पुराणमा स्वयं भगवतीले यस समयमा गरिने महापूजाको विधिसमेत बताउनुभएको छ। नवरात्रको प्रथम दिन विधिपूर्वक घटस्थापना गरी भगवतीलाई आवाहन गर्ने विधान छ। यस दिन शात्रोक्त विधिले घटस्थापना गरी जमरा राखिन्छ र दैनिक रूपमा भगवतीको विशेष पूजा गरी दुर्गा सप्तशती, देवी भागवतलगायत पाठ गरिन्छ। जनजनमा उत्साह र उमंग जगाउने पर्वका रूपमा दसैंलाई लिइन्छ। नवरात्रको अवसरमा भगवतीको उपासना गरी आशीर्वाद प्राप्त गरिन्छ। भगवानको जन्मोत्सवमा भगवानको पूजा उपासना गर्नाले भगवत् कृपा प्राप्त भई मानिसको कल्याण हुन्छ।

रामनवमी

ध्यायेदाजानुबाहुं धृतशरधनुषं बद्धपद्मासनस्थं।
पीतं वासोवसानं नवकमलदलस्पर्धिनेत्रं प्रसन्नम्।।
वामाङ्कारूढसीतामुखकमलमिलल्लोचनं नीरदाभं।
नानालङ्कारदीप्तं दधतमुरुजटामण्डलं रामचन्द्रम्।।

जसका नूतनकमलदलतुल्य प्रसन्न नयन वामभागमा विराजमान श्री सीताजीका मुखकमलमा टक्क अडिएका छन्, उनै आजानुबाहु धनुषबाण धारण गर्नुभएका बद्धपद्मासनमा विराजमान पीताम्बरधारी विशाल जटाजूटले युक्त मेघश्याम नाना अलंकारले विभूषित दशरथनन्दन भगवान् श्रीरामचन्द्रको सभक्ति ध्यान गर्दै आज रामनवमीको पावन दिनमा भगवानका केही गुणानुवादको चर्चा गरिनेछ।

राम नवमी सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व हो। यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाउने गरिन्छ । प्रख्यात ग्रन्थ रामायणलगायत इतिहास(पुराण अनुसार यो दिनलाई भगवान् श्री रामचन्द्रको जन्म दिनका रूपमा लिइन्छ। यो पर्व वासन्ती नवरात्रभित्रै आउने भएकाले यस दिन भगवान् श्री रामका साथै आद्या शक्ति जगज्जननी दुर्गा भवानीको पनि पूजा हुन्छ। त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनुभएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको संहार गरी रामराज्य स्थापना गर्नुभएको सम्झनामा यो पर्व मनाइन्छ।

त्रेता युगमा चैत्र शुक्लपक्षको नवमी तिथिमा भगवान् विष्णुले नरयोनिमा राजा दशरथ र रानी कौशल्याका पुत्रका रूपमा जन्म लिएर आफ्नो सातौं अवतार श्रीरामरूप धारण गर्नुभएको थियो। त्रेता युगको त्यो रघुकुल धन्य छ, जसले साक्षात् पूर्ण ब्रह्म परमात्मा श्रीहरिलाई कुलभूषणका रूपमा अवतरित गरेको थियो। श्रीरामावतारमा भगवानले सदैव मर्यादा–पुरुषका रूपमा एक सदाचारी आदर्श चरित्रलाई स्थापित गर्नुभयो। भगवानका आदर्श लीला चरित्र अध्ययन, श्रवण, स्मरण र चिन्तन–मनन गर्नाले मानवहृदयमा पवित्र भावधारा उत्पन्न हुन्छन् र चञ्चल मानवमन रामभक्तिमा लीन हुन पुग्छ।

रामायणमा नैतिक आदर्श एवं सद्गुणका खानी श्रीरामचन्द्रलाई सत्य, धैर्य, क्षमा, दया, मृदुता, वीर, शान्ति, निर्भय, तेज, ज्ञान, धर्मपरायण, मातृ–पितृभक्त, गुरुभक्त, भ्रातृप्रेमी, पत्नीबल्लभ, नीतिवान्, प्रतिज्ञापालक, साधुसंरक्षक, शरणागतवत्सल एवं पवित्रताका प्रतिमूर्तिका रूपमा प्राप्त गर्न सकिन्छ। युगपुरुष श्रीरामका आदर्शचरित्र र रामराज्यको गुणगान संसारभर युगौंयुगसम्म उत्तिकै लोकप्रिय र प्रशंसनीय छन्।

यस पावन दिनमा भगवानको विशेष पूजाआजा, व्रत अनुष्ठान, कथाश्रवण गर्नुपर्दछ। हरेक व्यक्तिमा अन्तर्निहित पापाचाररूपी रावणलाई पराजित गरी हृदयमा रामराज्य स्थापना गर्नु पनि आजको पर्वको सन्देश हो।

प्रतिक्रिया दिनुहोस