बिभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिसहरु पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

चैत २१, काठमाडौं । काठमाडौं महानगपालिका(२० रामघाटबाट करिब ६ केजी २ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित तारकेश्वर नगरपालिका-८ गैरीगाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-४ घर भएका ३० वर्षीय दिपक लामालाई शक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको साथबाट १ केजी २ सय ग्राम र डेरामा लुकाई राखेको ५ केजी गरी उक्त परिमाणको पदार्थ, उक्त पदार्थ र्‍यापिङ गर्ने प्लाष्टिक टेप, प्लाष्टिकका झोला र नगद २४ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट करिब ५ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ धादिङबेशी घर बताउने ११ वर्षीय बालकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धादिङ माधबबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ८५२३ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार ती बालकलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीबाट करिब ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने ३० वर्षीय बिक्रम दुलाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दुलाललाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट करिब १ ग्राम ३ सय ३१ मिलिग्राम अवैध लागूऔषध हेरोइन सहित सोही ठाउँ बस्ने २४ वर्षीय समिर सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सिंहलाई उक्त हेरोइन सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कैलाली धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट करिब ३ ग्राम ११ मिलिग्राम अवैध लागूऔषध हेरोइन र नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाइट्राभेट सहित सोही ठाउँ बस्ने भारत उत्तर प्रदेश लखिमपुर खिरी घर भएका ४२ बर्षीय पप्पु खानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-३० गगनगौंडाबाट करिब १ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-६ बैदाम बस्ने १९ बर्षीय प्रदिप थापा मगर समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा।१ प ८३४ नम्बरको हाईस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ झिम्की चोकबाट नियन्त्रित लागूऔषध २० एम्पुल फेनारगन, २० एम्पुल डाइजेपाम र २० एम्पुल लुप्रिजेसिक सहित दमक नगरपालिका-४ बस्ने २३ वर्षीय सुमन धिमाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस