आफ्नै भिनाजुसँग मिलेर श्रीमानको हत्या

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

चैत १९, बुटवल । बुटवलको एक मोटर पार्टस वर्कसपमा काम गर्ने ४३ वर्षका फिरोज खानको हत्यामा श्रीमती र साढु दाइको संलग्नता रहेको खुलेको छ ।

ज्योति इन्जिनियरिङ वर्कसपमा १५ वर्षदेखि काम गर्दै आएका खानको हत्यामा ३० वर्षकी श्रीमती साइना खातुन र खातुनका भिनाजु भारतीय नागरिक कादिर अन्सारीको संलग्नता खुल्न आएको हो । खानको हत्यामा संलग्नको आशंका गरिएका अन्सारी भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारणका नागरिक हुन् । खानको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको खुलेको थियो । खानको हत्या गरेर अन्सारी भारततिरै भागेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार फिरोजको बुटवल १ गढिटोलस्थिल आफ्नै डेरा अगाडि गोली हानेर हत्या हुँदा श्रीमती खातुन छोराहरुसँगै कोठाभित्र थिइन् । छोराहरुले बाहिर के को आवाज आयो हेर्न जाऔं भनेर निस्कन खोज्दा खातुनले बाहिर जान नदिएको प्रहरीसंग बताएपछि शंकाको सुई खातुनतिरै सोझिएको र उनीमाथि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

अन्सारी र खातुन विगत केही वर्षदेखि सम्बन्धमा रहेको खुल्न आएको छ । अन्सारीकी श्रीमतीको एक वर्षअघि मृत्यु भएपछि खातुनसंग उनको भेटघाट बाक्लिएको थियो । फिरोजलाई उनै अन्सारीको योजना र श्रीमती खातुनको सहमतिमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ

खातुनले प्रहरीसँग दुई दिनसम्म भिनाजु अन्सारीको मोबाइल नम्बर आफूलाई थाहा नभएको बताएकी थिइन् । तर मोबाइलको कल डिटेल हेर्दा उनले अन्सारीसंग पहिले गरेको फोन रेकर्ड भने डिलिट गर्दै आएको बयानमा बताएकी प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस