एमालेमा देखिएको मनमुटाव र अबको बाटो !

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ७ मिनेट

नेपालको इतिहासमा विभिन्न राजनीतिक दलहरुले राजा फाले, राणाशासन फालेर फेरि राजालाई पाखा लगाए । त्यो त्यति सहज काम थिएन । प्रमूख राजनीतिक दलहरु एकापसमा मिलेर नै निरंकुश राणातन्त्र अनि राजतन्त्र समाप्त गरिएको थियो । ६२/६३ को आन्दोलनमा विभिन्न राजनीतिक दलहरु, नागरिक समाज, आम नागरिकहरु मिलेर निरंकुशतन्त्र बिरुद्दको यात्रा तय गरेर नै गणतान्त्रीक नेपालको पहिलो सरकार बनाउन तत्कालिन नेकपालाई जनताले पत्याएका थिए ।

सोहिनुरुप केपी ओलीको नेतृत्वमा सरकारी रथको पाग्रा अगाडि बढ्दै गर्दा बिचमा प्राय: गरी आफ्नै सहयात्रीहरुद्वारा बढी भाँजो हाल्ने काम भयो । तैपनि बिकासको गति अगाडि बढ्दै गयो । केही कमिकमजोरीहरुको वावजुद पनि यो सरकारले कम्सेकम अतीतका आठ नौ महिने सरकारमा हुने गरेका बेतिथीहरुलाई तोड्दै सकारात्मक दिसातिर देशलाई लैजादै गर्दा ब्यक्तिगत कुन्ठा, एकापसमा अतीतका तिक्तता, पद, मान, मर्यादामा आएको बिचलन, लामो समयसम्म नेपाली राजनीतिमा प्रयोग गरिने शब्द बाण “बिदेशी चलखेल” आदि कारणले तात्कालिन नेकपाभित्र धमिराले गुड लगाइसकेको थियो । जसले गर्दा आफ्नै दलभित्रकाबाट सरकारलाई काम गर्ने वातावरण नहुँदा प्रधानमन्त्री केपी ओलीले बाध्य भएर नयाँ जनादेसको लागि गत पौष ५ गते प्रतिनिधिसभा बिघटन गरे । त्यसमा पनि अनेक तिक्तता भयो र सर्वोच्चले प्रतिनिधिसभा पुनस्थापना गरिदियो । संसद पुनस्थापना भएपश्चात धेरैको आकलन थियो कि, प्रधानमन्त्रीले राजिनामा दिनेछन भन्ने । तर धेरैले बुझेर पनि बुझ पचाएका थिए कि सर्वोच्चले प्रतिनिधिसभा पुनस्थापना गरेर संबैधानिक संकट मात्र मोचन गरेको हो । राजनीतिक संकट समाधान गर्नको लागि त सरकारलाई फेरिपनि नेपालको संबिधानको धारा ७६ को उपधारा १ मा गई आन्तरिक समस्याको समाधान खोज भनेको हो । यस बिचमा तत्कालिन नेकपा भित्रका केही गुटले मीठो मसिनो खाई हर्षोल्लास मनाईरहंदा त्यसको केही दिनपछि नेकपाकै अर्का रिट निबेदक नेता ऋषि कट्टेलको नेकपालाई सर्वोच्चले आधिकारिकता दिई नेकपा एमाले र एनेकपा माओबादीलाई पूर्ववत अवस्थामा फर्काइदियो । त्यसपछिका दिनहरुमा भने एमालेका केही नेताहरु धर्म संकटमा परे ! ” नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार” भनेजस्तो पहिला पार्टीमा प्रधानमन्त्रीलाई बहुमतको नाममा जति हुर्मत लिने काम गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने नाटक रचियो ।

हो, त्यसैको बदलामा केपी ओलीले पनि केही हदसम्म एमालेका केही नेताहरुलाई धम्क्याउनुमा कुनै आश्चर्य मान्नुपर्ने छैन । किनकि पद, ब्यक्तिगत कुन्ठा अनि अतीतको रिसिइवी सांधेर मुट्ठीभरका केहि नेताहरुद्वारा देशभरीका आम कार्यकर्ता र जनताको एकताको भावनालाई लत्याई जुन कुकर्महरु गरियो यस्ता बिदेशी दलालहरुलाई आगामी चुनावमा जनताले पक्कैपनि नैषियत त दिन्छन नै तथापि वर्तमान अवस्थामा पनि सजाएको भागिदार हुनैपर्छ भनि आम जनचासोको विषय बनेको छ । हुन त, पहिला प्रचण्ड र माधब नेपाललगाएतका नेताहरुले पार्टी भित्रको बिबादलाई सहजरुपमा ल्याण्ड गराएर एमाले पंक्तिको सहानुभूति बटुल्दै भावी नेतृत्वको लागि बाटो तय गर्नुपर्थ्यो तर त्यसलाई ओली सिध्याऊँने अवसरकोरुपमा उपयोग गर्न थाले । जसले गर्दा एमाले पंक्ति भित्रका धेरै कार्यकर्ता र शुभचिन्तकहरु प्रचण्डसँग अझ चिडिन पुगे । परिणामस्वरुप प्रचण्ड नेपाल पक्षले प्रतिगमनको नाम दिएर आयोजना गरेको आमसभाहरु भन्दा ओली पक्षले आयोजना गरेको सभाहरु चौगुणा ठूला देखिए । अझ अहिले एमाले ब्यूँतिए पछि त एमाले कार्यकर्ताहरुले एकखालको हर्षोल्लास मनाई रहेका छन ।

आखिर किन त ? किनकि, प्रचण्ड ग्रुप यसमा चुकेकै हो । माधब नेपाल र केपी ओलिको जुंगाको लडाईमा प्रचण्डले सेतुको भूमिका खेल्न नसकेकै हो । सायद, भबिष्यमा प्रचण्डले पक्कैपनि यसलाई गल्ती भएको महशुस गर्नेछन र पछुताऊँने पनि छन । किनभने उनको उपयोगिताबादी चरित्रले एउटा शक्तिशाली कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने सुनौलो अवसर मात्र गुमाएन, आफ्नो राजनीतिक धरातललाई पनि चरित्रहीनतामा बिलय गराएको छ ।

यता एमाले पंक्तिका धेरै नेताहरु गत हप्ता बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागिता जनाएर ढिलै भएपनि आ आफ्नो गन्तब्य तय गर्ने क्रममा मन्तब्य राखि सहजीकरणको बाटो खोजेका छन । तर नेता माधबकुमार नेपाल र भिम रावल भने सो बैठकमा उपस्थिति नभई प्रचन्डसँगको साँठगाँठ बढाएर समानान्तर गतिबिधितिर अगाडि बढेका र पार्टी हित बिपरित गतिबिधिलाई तीब्रता दिएकै कारण उनीहरुलाई एमाले पार्टीबाट ६ महिनाको लागि निलम्बन गरिएको छ । यसैक्रममा नेता नेपाल र भट्टराई प्रधानमन्त्री हुँदा गरेका ललिता निवास जग्गा प्रकरणको निर्णयको फाइल पनि सर्बोच्चले मगाएको छ । यसरी गणतन्त्र प्राप्तिपश्चात एक भएका ठूला भनिएका कम्युनिस्ट पार्टीहरु अहिले तितर बितरको अबस्थामा आउन खोज्दा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बढो बिचार पुर्याएर यसको भविश्य आंकलन गर्नुपर्ने हुन्छ । किनकि, यदि अहिलेको अबस्थालाई मिलाउने प्रयत्न गरिएन भने नेता नेपाल र रावलको राजनीतिक भविश्य त अन्योलमा पर्यो पर्यो सिंगो नेकपाको भविश्यमाथि नै संकट नआउला भन्न सकिन्न ।

अहिले नेकपाको यो अबस्था सृजना गर्ने केही पात्रहरुमध्येका कारक मानिएका एक पात्र माधव नेपालले यो कुरा बुझ्न जरुरी छ कि, केपी ओलीले भन्दा नयाँ काम गरेर देखाउन नसक्दासम्म हालत अझै खराब हुनेवाला छ । रोएर दुलही आउँदिनन् भनेजस्तै ओलीलाई गाली गरेर मात्रै राजनीति पार लाग्दैन र लाग्नेवाला पनि छैन । यसमा ओलीले चौका दाउ कति हान्छन् कति । किनकि बिगतमा उनलाई सकुनीको पासामा फँसाउन खोजिएकै थियो ।

जनताले यो कुरा पनि बुझेका छन कि, माधवलाई छैठौं महाधिवेशनमा महासचिव बनाउन वामदेव र सिपिसँग जुधेका थिए ओली । पछि बीचैमा महासचिवबाट माधवलाई हटाउन खोज्दा काँध थाप्ने पनि ओली नै हुँदाहुँदै सातौं महाधिवेशनमा पार्टी लोकतान्त्रिकरणको प्रस्ताव ल्याउँदा तिनै ओलीलाई माकुनेले बोल्न प्रतिबन्ध लगाए । पार्टीका कार्यक्रमहरुमा भाग लिन बन्देज लगाएका थिए । युवराज ज्ञवाली र अमृत बोहोराले स्वीकृति दिएपछि मात्र ओलीले पार्टीका निकायहरुमा जान पाउँथे । यस्ता अतीतका तथ्यपरक घटनाहरुबाट आज आम कार्यकर्ताहरु अनभिज्ञ पक्कै पनि छैनन ।

सायद फेरिपनि त्यहि बदलाको भावनाको अन्त्य नभएरै होला केहि झुन्डहरु र प्रचण्डको साथ रहेर चार चार पटक ओलीलाई साधारण सदस्यबाट निकाले माधबले । त्यतिमात्र होइन सातौं महाधिवेशन जनकपुरमा गरेर फर्केपछि ओलीको पक्षमा लागेको भन्दै पृथ्बी सुब्बा गुरुङ, खगराज अधिकारी, सोमनाथ अधिकारी, कृष्णप्रसाद सापकोटा, गोकुल बास्कोटा, भानुभक्त ढकाल, राजन भट्टराई लगायत ५४ जनासँग स्पष्टीकरण मात्र सोधेनन भलै तिनलाई जिम्मेवारबिहीन बनाएइदिए माधवले । कति क्रुर भने बाजुरामा निर्वाचित जिल्ला सचिव दलबहादुर शाहीलाई अपदस्त नै गरे । अहिले जस्तो भेला गर्दै हामी अर्को पार्टी खोल्यौ भन्ने हो र, आफ्नै भेलामा पनि बोल्ने र विचार राख्नसमेत बन्देज लगाइएको थियो उनीबाट विपक्षमा रहने नेता तथा कार्यकर्तालाई ।

अझ गत तीन चार महिना यताको हर्कत र स्वेच्छाचारीको पराकाष्टा यसरी उर्लिदै गयो कि, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलकाे नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै हाेइन, चार चार पटक निस्काशन गरियो । महासचिव विष्णुप्रसाद पाैडेललाई दुई पटक निस्काशनकाे घाेषणा गरियो, मुख्यमन्त्री शंकर पाेखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निश्कासन, मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एक पटक निश्कासन, सुवासचन्द्र नेम्वाङलाई संसदीय दलकाे उपनेताबाट एकपटक निश्कासन, विशाल भट्टराईलाई संसदीय दलकाे प्रमुख सचेतकबाट निश्कासन, शान्ता चाैधरीलाई संसदीय दलकाे सचेतकबाट एकपटक निश्कासन, प्रभु साहलाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाकाे लागि निलम्बन, कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाकाे लागि निलम्बन, गाेकुल बाँस्काेटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनकाे प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाकाे किरियामा रहनुभएकाले विराेध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए ।

यसरीसूर्य थापालाई पनि केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाकाे लागि निलम्बन, त्यस्तै महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाकाे लागि निलम्बन गर्दा यसबाट सजिलै थाह पाउन सकिन्छ कि, त्यस्तो हर्कत पार्टी कब्जा गर्ने रणनीति अन्तर्गत नै थियो भन्ने कुरा स्पष्टै खाका नदेखिएको पनि होइन ! यसमा अब नेता माधबकुमार नेपाललगाएतका केही एमाले नेताहरुले अतीतको गल्तिलाई आत्माआलोचना गरी सच्चिनुको बिकल्प छैन ता कि सिपी मैनालीको हालत नहोस !

तसर्थ निचोडमा भन्नुपर्दा भविश्यमा कम्युनिस्ट पार्टीको साख बचाई राख्नको लागि यसमा प्रधानमन्त्रीले पनि असल अभिभावकको भूमिका बाधेर एमाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्दछ । बिगतमा अन्य पार्टीहरुको फुटले ल्याएको परिणामतिर पनि एमालेले ध्यान दिन जरुरी छ । बाह्य शक्तिले नेकपा फुटोस भन्ने चाहेर नै यसभित्र सकुनीको खोजि भइरहेको थियो । जसनुरुप पद र प्रतिष्ठाको लोभमा फसेर केही नेताहरुले हरपल प्रभूको आज्ञा शिरोपर गर्दै आफ्नै पार्टीको सरकार गिराउनतिर लागे भने उता प्रतिपक्षले त झन ” के निउँ पाउँ , कनिका केलाउ” भनेजस्तो बिरोध गर्न किन बाँकि राख्थ्यो र ! अर्कोतिर यहि धमिलो पानीमा माछा मार्ने बहानामा केही बोटेहरु सत्ताको ढडिया खोज्दै थिए । यस्तो बिषम परिस्थितिको कारक तत्व भनेको न त बिदेशी शक्ति नै हुनसक्थ्यो न त प्रतिपक्ष नै यदि सत्तापक्षमा साहश र धैर्यताको बांध दरिलो भइदिएको भए ।

सत्तापक्षकै केही मतियारहरुको मति बिग्रेकोले नेपालमा कम्युनिस्ट पार्टीको भविश्यमाथि प्रश्न चिन्न खडा भएकोले पनि अब सबै नेताहरुले अतीतको तिक्ततालाई तिलान्जली दिएर कार्यकर्ता र आम जनमानसको आकांक्षालाई नविर्सी अगाडि बढ्ने सोच आएन यदि भने सम्झनुहोस कि, आगामी चुनावमा कार्यकर्ता र आम जनताले कसैको कच्छाड र धोतीको फेरो समाएर बैतर्नी तराउन बाध्य हुने छैनन ।

प्रतिक्रिया दिनुहोस