जनता खुसी पार्न स्थानीय तहहरुको आर्कषक प्याकेज

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • प्यार अलि खाँन

चैत १७,प्युठान। प्यूठानका स्थानीय तहहरुले जनतालाई खुसी बनाउन विभिन्न आर्कषक प्याकेजका कार्यक्रमहरु ल्याएका छन् । जिल्लाका प्राय सबै गाँउ तथा नगर सरकारले गरिव तथा विपन्न घरपरिवारका जनताहरुलाई जस्तापाता वितरण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।

खरको झुपडीमा जिवन गुजारिरहेका गरिब परिवारलाई सुरक्षित छानामुनी ल्याउने कामको सुरुवात गौमुखी गाँउपालिकाले सुरु गरिसकेको छ भने अन्य पालिकाहरुले पनि कार्ययोजना बनाई अघि बढीसकेका छन् । गौमुखी गाँउपालिकाले खरको छानो मुक्त बनाउन चालु आ.व.मा ५ करोड २८ लाख ४४ हजार ६ सय ८० रुपैयाँ बजेट व्यववस्थापन गरेको गाँउपालिका अध्यक्ष विष्णुकुमार गिरिले बताए । गाँउपालिकाका १ हजार ६ सय ३३ घर परिवारका लागि ५ हजार ५ सय ५४ बण्डल जस्तापाता वितरण गर्ने कार्यको सुरुवात भैसकेको अध्यक्ष गिरिको भनाई छ ।

प्यूठान नगरपालिकाले भने आगामी ४ वर्ष भित्र नगरपालिकालाई खरको छाना रहित नगरपालिका घोषणा गर्ने कार्ययोजना बनाएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । नगरपालिकाले एक वडा एक पकेट क्षेत्र निर्धारण गरि कृषि तथा पशुपालनको क्षेत्रमा ठोस कार्य अघि बढाएको उनले बताए । नगरपालिकाले स्मार्ट सिटि बनाउन एकिकृत नगर विकस गुरुयोजना, एकिकृत यातायात गुरुयोजना तर्जुमा गरि कार्यान्वयनमा ल्याउन लागेको समेत नगरप्रमुख कक्षपतिले जानकारी दिए । नगरपालिकाले कार्यसम्पादन गर्न ऐनलाई विशेष प्राथिमिकता दिई ३६ वटा ऐन बनाई कार्यान्वयनमा ल्याएको उनको भनाई छ ।

सरुमारानी गाँउपालिकाले किसानसंग गाँउसरकार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाईरहेको छ । परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकिकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातमुखी बनाउन योजनाबद्ध ढंगले क्रमिक रुपमा किसानसंग गाँउसरकार कार्यक्रमको बजेट क्रमश बृद्धि गर्दै लगेको गाँउपालिका अध्यक्ष झग बहादुर वि.क.ले बताए ।

यस चालु आवमा १ करोड बजेट व्यवस्थापन गरिएको छ । विभिन्न बस्तीमा माटो तथा वातावरणीय परिक्षणद्धारा उत्पादन हुने बालीको आधारमा पकेट क्षेत्र निर्धारण गरि किसानलाई उत्पादनमा बृद्धि गर्नका लागि विउ, मल, पूर्वाधार, कृषि यन्त्र तथा औजारमा परिपुरक बजेट अनुदानको व्यवस्था गर्ने कार्यक्रम रहेका पालिकाले जनाएको छ । उत्पादित बस्तुलाई संकलन तथा बजारीकरण गर्न कृषि सहकारी संस्थालाई जिम्मेवारी दिँदै सहकारीलाई समेत सबसिटि दिने पालिकाले योजना बनाएको अध्यक्ष वि.क.को भनाई छ । अति विपन्न घरपरिवारलाई खरको छाना वितरण कार्य पनि छिट्टै गर्न लागिएको उनले बताए ।

उता स्वर्गद्धारी नगरपालिकाले पनि जनतासंग मेयर कार्यक्रम मार्फत बेरोजगार युवालाई प्राथमिकता दिई विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको छ । माण्डवी गाँउपालिकाले शिक्षा क्षेत्रमा विशिेष चासोको साथ कार्यक्रमहरु ल्याएको छ भने ऐरावतीले समेत विभिन्न जनसरोकारका विषयमा केन्द्रित भई कार्यक्रमहरु ल्याएको छ । बृद्धहरुको स्वास्थ्य सेवामा गाँउपालिकाले घरमै गई स्वास्थ्य सेवा प्रदान गरिरहेको गाँउपालिका अध्यक्ष नविलविक्रम शाहले बताए ।

प्रतिक्रिया दिनुहोस