प्रिय! तिमीसँग प्रेम गरेर मलाई “दोस्रो नवराज बिक” बन्न मन छैन्

Khabar24Nepal Author Logo..
सुबिन विश्वकर्मा पढ्न लाग्ने समय : ५ मिनेट

कुरा सुरु गरौ, वि.सं. २०६३ जेठ २१ गतेको दिनबाट । अर्थात नेपाल कानुनी रूपमा “जातीय विभेद मुक्त राष्ट्र” घोषणा भएको दिन । त्यसपछि पहिलो चोटि २०६८ सालमा जातिय भेदभाव छुवाछुत कसुर र सजाय ऐन २०६८ संसदबाट जारी भयो । इतिहास साक्षी छदैछ, कतिजना दण्डित भए र, कतिजनाले उन्मुक्ति पाए ? यो ऐन लागु भएपछी २०७४ साल मंसिरसम्म मात्र १६ जनाले जातिय भेदभाव तथा छुवाछुतका कारणल्र ज्यान गुमाउनु पर्यो । १४ औं शताब्दीतिर राजा जयस्थिती मल्लले कामको आधारमा मानिसलाई जातमा विभाजन गरेको पनि आज यतिका समय बितिसक्यो । सदियौं बित्यो तर हामी त्यही छौ, जतिबेला १४ औं शताब्दीतिर थियौं । भलै बिस्तारै घट्ने क्रम छ । तर जुन गतिमा घट्नुपर्ने थियो, त्यो हुन सकेको देखिदैन ।

खैर, त्यो त धेरै अगाडिको कुरा भयो । अब फेरि बर्तमानमै फर्कियौ । हजुरबाको पुस्ता पनि जातभातमा कट्टर । त्यसपछि “बा” को पुस्ता झन् कट्टर । अरु त अरु यतिधेरै पढेलेखेका भनिएका मेरा पुस्ता त बाहिर भन्न नहुने तर भित्र भित्रै कट्टर माथिको कट्टर । मेरो एकजना दलित साथीको गैरदलितसँग प्रेम भएछ । मैले सबै कुरा बुझे । ती गैरदलित केटी अरु सबै थोक चलेपनि विवाह आफ्नै जातसँग गर्ने भन्ने मान्यता राख्ने खाल्की रहिछन् । घरभन्दा बाहिर विभिन्न जातका साथी सँगसँगै बस्नु, खानु, हिँड्नु यो सामान्य छ । तर बाहिर जस्तोसुकै होस्, घरमा कुल देवता हुन्छन्, नियम हुन्छ त्यो मान्नु नै पर्छ, भन्दी रहिछन् । एकदिन उनीहरू फोनमा कुरा गरिरहेथे,

केटी: हामी विवाह कहिले गर्ने ?
केटा: प्रिय! तिमीसँग प्रेम गरेर मलाई “दोस्रो नवराज बिक” बन्न मन छैन् नि ।

हो, साच्चै । उनको कुराले मेरो मन छोयो । हामीले छुवाछुत मुक्त राष्ट्र घोषणा त निकै अगाडि गरिसक्यौ । तर उपलब्धि के ? गत जेठ १० गते जाजरकोट भेरी नगरपालिका ४, रानागाउँका २१ वर्षीय नवराज विकले रुकुम पश्चिमको चौरजहारी नगरपालीका ८, सोतीकी मल्ल थरकी युवतीसँगको प्रेमलाई सफल पार्न दुलही लिन जाँदा ठूलो भेरीमा उ र उसका पाँच जना साथीको सास बिनाको शरीर भेटिन्छ । यहीँबाट प्रष्ट हुन्छ, नेपाली समाजको अमानवीय रुप । नवराज बिकले न्याय पाए त ? मर्ने र मर्नेका आफन्तलाई न्याय यतिले मिल्छ त? बाच्दा नमिलेको न्याय मरेपछि कसरी मिल्छ? उसका लागि त न्याय उसको लाससँगै मरिसक्यो । न्याय त त्यतिबेला मिल्नेछ जब अरु नवराजहरु, विक भएकै कारण मर्नु पर्दैन । दोषीलाई कडाभन्दा कडा कारबाही हुनुनै पर्छ ताकी भोलि फेरि यस्तो घटना नदोहोरियोस् ।

जातीय विभेद नियन्त्रणका लागि कसैले केही नै गरेनन् त ? हैन्, गरिएका छन् । गत आर्थिक वर्ष २०७६/०७७देखि भरतपुर महानगरपालिकाले दलितसंग प्रेम विवाह गर्नेलाई ५० हजार र मागी विवाह गर्नेलाई एक लाख प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न थाल्यो । भर्खरै मात्र धरान उपमहानगरपालिका दलित विकास समितिको आयोजनामा पुर्वमन्त्री मीन विश्वकर्मा र उनकी श्रीमती निरु पौडेलसहित १४ अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन तथा सम्मान गर्यो । उल्लेखित प्रतिनिधि घट्ना मात्र हुन् । यसरी हेर्दा राम्रा काम पनि भएका इतिहास छन् । तर अझै कथित उपल्लो जातकी युवतीसँग प्रेम विवाह गरेकै कारण सयौं दलित युवा जबरजस्ती करणी, अपहरण र बन्धकका मुद्दामा जेल जीवन कटाउन बाध्य छन् । कतिपय दलित भएकै कारण कोठा भाडा पाउनबाट बन्चित छ । कत्तिले दलित भएरै गाउँबाट लखेटिएका छन् । जातीय भेदभावलाई दण्डित गर्ने कानुन बनेयता मात्रै १७ जना दलित भएकै कारण ज्यान गुमाउन बाध्य भए । त्यसमध्ये ७ जनाले अन्तरजातीय प्रेम र विवाहका कारण ज्यान गुमाएका छन् ।

मेरो प्रश्न यति हो, आखिर यो कहिलेसम्म ?

जातीय भेदभाव र अन्तरजातीय विवाहको सन्दर्भमा हामी युवाको चाहिँ भूमिका के ?
समाजका प्रतिष्ठितहरु, राजनीतिज्ञ, जो परिवर्तन र विकासका नारा हर-बखत लेख्छ र बोल्छ, समाजसेवी, पत्रकार, शिक्षक इत्यादी धेरै व्यतिहरु जो बाहिर बाहिर “हो हजुर” भित्रभित्र “भो हजुर” भन्ने किसिमका हुन्छन् । अझ १० वर्षे जनयुद्ध त दलितहरुकै लागि भनेर गरिएको रे! अझैपनि राजनीतिक दलहरु हाम्रा एजेन्डा बोकेर भोट माग्न आउँछन् । अनि, भन्न चाहिँ नमिल्ने तर किन नपार्नु, जातले फरक पार्छ नै पार्छ, भन्दै चिया पसलमा गफ गर्छन् । नेताहरूले गर्ने झुटको खेतीभन्दा कयौं गुणा झुट र भ्रम ती ब्यक्तिहरुले छरिरहेका छन्, जो सामाजिक अगुवाको खोल ओड्ने गर्छन् ।

मलाई कसैले सोध्दैथिए, तपाईं अन्तरजातीय विवाह गर्नसक्नु हुन्छ ? त्यो दिन मैले जवाफ दिइन । आज दिन चाहान्छु, अन्तरजातीय विवाहमा खराबी केही हुन्छ र ? यो कुनै समस्या हो र? कठै तिम्रो सोच देखेर पनि दया लागेर आउँछ । अन्तरजातीय प्रेम गरेकै कारण नवराक बिकहरुले अझै ज्यान गुमाइराख्नु पर्ने ? समाजको डरले आफ्नो प्रेमसँग छुट्नुपर्ने ? तर मेरो हकमा यसो हुँदैन् । यदि मलाई कोही मनपर्यो, उसले म र मेरो भावनालाई बुझ्छ भने अर्थात् अन्तरजातीय प्रेम छ भने मलाई यो समाजको जातीय बन्धनले कदाचित् रोक्ने छैन् । यो समाजले भन्ने जुनुसुकै जातको मान्छे भएपनि म झ्याई-झ्याई पञ्चेबाजा बजाएर विवाह गर्न चाहान्छु । मलाई थाहा छ, यो सबकुरा समाजले स्विकार्ने ल्याकत राख्दैन । तर ती सबै जोखिमहरु म एक्लै मोल्नेछु । किनकी परिवर्तन आफैंबाट सुरु गर्न सक्नुपर्छ । मलाई लाग्छ म आफ्नो सिद्धान्तमा अडिग छु र नहुनु पर्ने कारण पनि छैन यसैले म अन्तरजातीय विवाह गर्न चाहान्छु र सक्छु पनि ।

प्रत्येक समाजमा सबैले मानेका अगुवा भनिनेहरु हुन्छन् । हाम्रो गाउँको एकजना अगुवाले भनेको कुरा सम्झिन्छु ‘जे होस् विवाह जातमै गर्नुपर्छ । कताकता आफूभन्दा सानो जातसँग त मनै अर्कै हुन्छ ।’ ती व्यक्ति तिनै हुन्, जो बिधालयमा पढाउछन् र विद्यार्थीलाई सिकाउछन्, जातीय विभेद समाजिक समस्या हो । अनि त्यो समस्या अन्त्य गर्ने कसले नि? ती व्यक्तिलाई मेरो एउटा प्रश्न छ, तपाईं भोलि फेरि तपाईंको सन्ततिलाई पनि यहिं पढाउनुहुन्छ ?

यसो भनिरहदा सबैले अन्तरजातीय प्रेम र विवाह गर्नुपर्छ भनेको पनि हैन् । तर जातकै आधारमा कुनै प्रेमले अन्याय पाउनु भने हुँदै हुँदैन । जातीय विभेदलाई साँच्चै जराबाटै निर्मूल पार्ने हो भने आजको पुस्ताले अन्तरजातीय विवाह गर्ने आँट गर्नु पर्छ नै पर्छ । फेरि मैले यो पाईला चाल्ने आँट गरिनँ भने भोलिका मेरा सन्ततिले मलाई के भन्नेछन् ? । त्यसैले यो पुस्ताले अन्तरजातीय प्रेम विवाह गर्न सके अर्को पुस्ताले अवश्य मागी विवाह सहजै गर्न सक्नेछन् । किनकी एउटा बाटो हामीले कोरीसकेका हुनेछौँ । मलाई के थाहा छ भने, मैले मबाट हुनसक्ने केही योगदान परिवर्तनका नाममा दिन सकिनँ भने म र मेरा कयौँ भावी सन्तानले नवराजहरु मरेका समाचार सुनि रहनु पर्नेछ, भोगी रहनु पर्नेछ । त्यसैले म डराउदिन । लड्नेछु समाजसँग र उठ्नेछु शिर ठाडो पारेर । किनकी एकदिन यहि समाजले जातीय विभेद र छुवाछूतको विषयमा आवाज उठाउने मान्छेलाई सहि साबित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस