कोरोना भाइरस : डराउने हैन मनोबल उच्च बनाउने बेला

अहोरात्र अस्पतालमा र सडकमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हाम्रा भगवान् हुन्, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने हो
Khabar24Nepal Author Logo..
इश्वर दुलाल पढ्न लाग्ने समय : ३ मिनेट

यो बेलामा हामीले अरूभन्दा पनि हाम्रै लागि अहोरात्र अस्पतालमा र सडकमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हाम्रा भगवान् हुन्, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने हो । उहाँहरूको साथमा हामी पनि छौं है भनेर मनोबल बढाउन सकियो भने कोरोनाबाट बच्न सकिन्छ ।

जो नेतृत्वमा हुुुनुहुन्छ र जसले सरोकारवाला मन्त्रालय सम्हालिरहनु भएको छ उहाँहरूले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्नुपर्छ । सुरक्षकर्मी जो व्यक्तिगत सुरक्षा सामग्रीको अभावमा अहोरात्र खटिनुपर्ने अवस्था छ, उहाँहरूलाई मोटिभेसन दिएर हामी छौं, नडराउनुस्, नआत्तिनुस्, हामी तयारी गर्दैछौं भन्नुपर्छ । यो समय मोटिभेसन नै सबैभन्दा ठूलो शक्ति हो ।

दैनिक रोजिरोटी गरेर खाने वर्गलाई कठिन भइरहेको छ । तर विवशता कहाँ छ भने देशमा महामारी छ, यसबाट बच्न सबै नेपालीले सर्तकता अपनाउनुपर्छ । जनताले नै लकडाउन चाहियो भनेको अवस्था हो । तर लकडाउनमा जानुभन्दा पहिला नै विश्वस्वास्थ्य संगठनले गरेको अपिल अनुसार सरकारले तयारी गर्नुपथ्र्यो ।

हरेक प्राकृतिक प्रकोप र जोखिमका लागि पूर्व तयारी नहुनु नै नेपाल र नेपालीका लागि सबैभन्दा ठूलो विडम्बना हो । हिजो भूकम्प जाँदा पनि हामीसँग केही ब्याकअप थिएन । त्यो बेला सुरु भएको पुनर्निर्माण आज पनि पूरा भएको छैन । हामीसँग पर्याप्त पूर्वतयारी भएको भए सायद त्यति ठूलो क्षति पनि हुँदैन थियो होला ।

भूकम्प लगत्तै बाढीपहिरो गयो । तराई डुब्यो हावा हुन्डरी आयो व्यक्तिगत रूपमा इच्छा शक्ति हुँदा त काम गर्न सकिन्छ भने राज्यसँग त स्रोत साधन छ । तर दीर्घकालीन सोच नहुनु, योजना नबन्नु र विपत्ति तथा जोखिममा कसरी राहत र उद्धारमा खटिने भन्ने योजना बनाएर पूर्वतयारीका साथ बस्नुपर्ने विपद् व्यवस्थापन समिति घटना भएपछि मात्रै सक्रिय हुने समिति भयो ।

सुरुमै हवाई उडान रोक्ने, खुला नाका बन्द गर्ने काम भएको भए डराउने अवस्था नै आउँदैन थियो । किनभने देशभित्रै संक्रमण देखिएको होइन । बाहिरबाट आउनेमा मात्रै देखिएको छ । विमानस्थलमा सरकार सचेत भएको र वुहानबाट आएका नेपालीलाई जस्तै बाहिरबाट आएकालाई पनि अनिवार्य क्वारेन्टाइनमा राखिएको भए त्यतिबेलै यो समस्याको समाधान भइसक्थ्यो । नागरिकको स्वास्थ्यका लागि सरकारले लकडाउन गरेर बाहिर ननिस्कन भनेको छ । तर हामी आफैं जबरजस्ती सडकमा निस्किरहेका छौं । जनताले किन गम्भीर रूपमा लिएको पाईएको छैन ।

सुरुका दिन इटलीमा पनि यहाँको जस्तै हेलचेक्र्याईं गरिँदा अहिले त्यस्तो अवस्था छ । स्वास्थ्यमा संसारकै दोस्रो सम्पन्न र व्यवस्थित देशमा त त्यस्तो अवस्था आयो भने हाम्रो त भगवान् भरोसाको अवस्था छ ।त्यस्तो भयावह अवस्था नआओस् भनेर हामी अहिले नै सचेत भएर लकडाउनको पूर्ण पालना गर्नैपर्छ । यो बेला नागरिक नै सरका  भएर यो महामारीबाट बच्नुपर्छ । नागरिक सचेत हुनु र सरकारले सबै कुरा छोडेर यो खतराबाट देशलाई बचाउन लाग्नुपर्छ ।

यो अहिले पहिलो पक्ष भनेकै आफू जोगिनु र परिवारलाई जोगाउनु हो । तर पनि भोलिका दिनमा अवस्था सहज रह्यो र राज्य संयन्त्रले व्यवस्था गरिदिने हो भने म मेरो जिम्मेवारी वहन गर्न तयार छु । जनतामा राहात प्रदान गर्छ भने म जस्तो सुकै जोखिम मोलेर पनि जिम्मेवारी र कर्तव्य पूरा गर्न तयार छु भन्न सबै नागरिकले सक्नुपर्छ । जो संक्रमित हुनुहुन्छ उहाँहरूलाई पनि उच्च मनोबलको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस