इतिहास र संस्कृतिको संरक्षण गर्न राष्ट्रिय संरचना आवश्यक !!

Khabar24Nepal Author Logo..
घनश्याम कोइराला, संस्कृति अध्येता पढ्न लाग्ने समय : ९ मिनेट

संसारका विकसित देशहरू घुम्न जाने र घुमेर आउने कतिपय नेपालीहरू आफ्नो देशको पूर्वाधारको अवस्था देखेर साह्रै घटिया टिप्पणी गर्दछन् । खासगरी, अरु देशका विमानस्थल देखेर र प्रयोग गरेर आएकाहरू नेपालको विमानस्थल देखेर साह्रै नकारात्मक टिप्पणी गर्ने गर्दछन् । हुन पनि हो, हाम्रो देशको व्यवस्थापकीय दृष्टिकोण, चेतना र क्षमता उत्साहजनक छैन, तथापि अरुको विकास र वैभवबाट शिक्षा लिनु जायज हो, आफ्नोलाई घृणा गर्नु र यसप्रति वितृष्णा फैलाउनु राम्रो होइन ।

हामीले हाम्रो भूगोल, प्रकृति, जनजीवन, इतिहास, संस्कृतिका राम्रा पक्षहरू खोज्ने र लागू गर्ने हो भने रूपान्तरण सम्भव छ । हाम्रो संस्कृतिले पुर्खालाई कृतज्ञ हुन सिकाउँछ, इतिहासको सम्मान गर्न सिकाउँछ । हामी श्राद्ध गर्दछौँ, अग्रजहरूको जन्मदिन मनाउँछौँ । किन ? किन कि हामीले वहाँहरूबाट केही प्राप्त गरेका छौँ । वास्तवमा अहिले हामीसँग भएका धेरै विशेषताहरू पुर्खाको विरासतबाट प्राप्त हुन् ।

हाम्रो नाम, थर, गोत्र, राष्ट्रियता, रीतिरिवाज, मूल्य-मान्यता, संस्कृति, सभ्यता आदि हामीले पुर्खाबाट नै प्रप्त गरेका हौँ । हामीले पढ्ने गरेका अक्षर, शब्द, वाक्य विन्यासका व्याकरण, साहित्यका छन्द, अलंकार, गीतका लय—भाका, सुर, ताल आदि सबै पुर्खाहरू र अग्रजहरूबाट प्राप्त गरेका हौँ । देशको नाम, हाम्रो खोला, नाला, चउर, फाँट, वन, पर्वत, पाखा—पखेराका नाम पनि हामीले उनैबाट पाएका हौँ । यी सबथोकका लागि सबैप्रति हामी कृतज्ञ हुनुपर्दछ । हो, जीवन कृतज्ञताले मात्र सुन्दर बन्दैन, जीवनलाई सुखमय बनाउन आफैले केही गर्नुपर्दछ । आफ्नो योगदानको मात्रा अनुसारको दाबी गर्ने बानी पार्नुपर्दछ ।

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको व्यवस्थापनको सन्दर्भमा भन्नुभएछ ‘इतिहास झल्कने—आधुनिकता टल्कने’ बनाउनु पर्छ । यद्यपि यो विमानस्थलको सन्दर्भमा भन्नुभयो, विषय यसैमा मात्र सीमित राख्ने खालको छैन । यसको क्षेत्र विस्तार निकै ठूलो छ । वहाँले यसलाई इतिहाससँग जोडेर भन्नुभएछ, तर यतिमा मात्र सीमित हुँदैन यो । इतिहास झल्कने भनेको यहाँको संस्कृति, परम्परा, धर्म, विश्वास…समग्र नेपाली जीवनको सार प्रतिबिम्बित हुने कुरा हो । असल संस्कृति निर्माण र अभ्यासबिना झल्काउन र टल्काउन सकिँदैन ।

मूलतः हाम्रो इतिहासको ठूलो भाग संस्कृतिमा समाहित छ । हामीले हाम्रो मौलिकता झल्काउँदा संस्कृति भल्किन्छ । संस्कृति बहुआयामिक विषय हो । यसलाई कतिपयले धर्मको रूपमा बुझिरहेको पाइन्छ भने धेरैले संस्कृति भनेको नाचगानसँग सम्बन्धित विषय ठान्दछन् । वास्तवमा संस्कृति भनेको जीवनको त्यो अविच्छिन्न त्यो रसधारा हो जो युगौँदेखि मानव परम्परामा सञ्चित रहिआएको छ । संस्कृतिको अर्को अर्थ विकृति नभएको सामाजिक गुण हो । संस्कृति परम्पराको परिष्कार हो । यसमा इतिहास, परम्परा, सोच, विचार, मूल्यमान्यता, रहनसहन, कला, कौशल, जुक्ति, बुद्धि, सीप, खाद्य, पहिरन, विश्वास, गीत—संगीत, नृत्य, अभिनय आदि स्तुति, प्रार्थना आदि अनेकौँ विषयको समष्टि नै संस्कृति हो ।

संस्कृतिप्रति मानव समाजको दुईवटा दायित्व छन् ः जोगाउनु र विकास गर्नु । जोगायनु अर्थात् संरक्षण गर्नु र विकास गर्नु अर्थात् फेर्नु । संस्कृतिका क्षेत्रमा एकसाथ दुई विपरित कार्य गर्नु पर्नेछ । संरक्षण गर्दा नफेरिने—रूपान्तरण नहुने र विकास गर्दा—फेर्दा संरक्षण नहुने । आमरूपमा मानिसहरू यसैमा अलमलिएको देखिन्छ । तर, यसमा अलमलिन पर्दैन । हाम्रो देशका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएझैँ हाम्रा हरेक कर्ममा ‘इतिहास झल्कने, आधुनिकता टल्कने ।’ हो, हामीले हाम्रो इतिहासलाई, संस्कृतिलाई झल्काउन आवश्यक छ र हाम्रो सीपले यसलाई टल्काउन आवश्यक छ । यहीँनेर संस्कृतिको संरक्षण र विकास भेटिन्छ । प्रसंग जहाँ जहाँको भए पनि यो भनाइले तत् तत् क्षेत्र र विषयको सांस्कृतिको सार वहन गर्दछ ।

हाम्रो संस्कृतिलाई धर्मजस्तो मान्नुको पछाडि साह्रै महत्वपूर्ण कारण छ । हाम्रो धर्म निश्चित पूजा पद्धति भएको पन्थ मात्र होइन, यो जीवन पद्धति हो । जीवन पद्धतिका पनि दुइटा आयाम छन् ः जैविक र सामाजिक । जैविक विषय आफू बाँच्ने र सुरक्षित हुने विषय हो भने साामाजिक विषय अरुसँग जोडिएको विषय हो । हाम्रा पुर्खाले जैविक अर्थात् शारीरिक आवश्यकताका अनेकौँ विषय धर्मसँग जोडिएका छन् र जीवन पद्धति बनाएका छन् । खानपानका अतिरिक्त योग, प्राणायाम न्यास, मुद्रा आदिलाई नित्यकर्म बनाएका छन् । यज्ञ—अनुष्ठान, पूजा आदिमा यी विषय समाविष्ट गरिएका छन् । त्यस्तै, सामाजिक विषयलाई पनि धर्मसँगै जोडिएको छ । ‘धृतिः क्षमा दमो….’ आदि अर्थात् धीर रहनु, सहिष्णु हुनु, चित्त नियन्त्रणमा राख्नु, चोरी नगर्नु, पवित्र रहनु, इन्द्रियलाई विवेकको अधीनमा राख्नु, बुद्धियुक्त हुनु, ज्ञानी हुनु, साँचो बोल्नु, क्षमाशील हुनु, हिंसा नगर्नु यी दसलाई धर्मको लक्षण भनिएको छ । ‘सत्यं ब्रूयात् प्रियं ब्रूयात्…एषः धर्म सनातन :’ आदि भनिएको छ ।

अर्को नाचगान आदिसँग जोडिनुको पछाडि पनि महत्वपूर्ण अर्थ छ । हाम्रो संस्कृति परम्पराबाट विकसित हुँदै आएको हो । यी परम्परा सनातनदेखि चलिआएका हुन् । यसलाई ‘वैदिक सनातन’ भनिने गरेको छ । वैदिक भनेको वेदसँग सम्बन्धित हो । यो श्रुति अर्थात् परम्पराबाट आएको हो । लेख्य परम्परा सुरु हुनुपूर्वका वितरणीय ज्ञानहरू सबै श्रुति नै हुन् । यसमा आपूmलाई ‘गैरवैदिक’ ठान्ने वा मान्नेहरूले पनि अन्यथा बुझ्न आवश्यक छैन, बरु यसकाट वञ्चितिमा पारिएको विषय स्मरणीय छ । श्रुति परम्परा भनेको सुनाउँदै हिंड्ने भएकोले यसमा गद्यको प्रयोग गर्न असहज हुनु स्वाभाविकै हो । यसलाई सजिलो पार्न गाउने लय वा छन्दमा बाँध्नु र प्रयोग गर्नु झनै स्वाभाविक हो । यसरी संस्कृतिको विकासमा, निरन्तरतामा वा परम्परामा लयबद्धताको प्रयोग प्रभावकारी भएको हुनाले यो विषय गानसँग सम्बन्धित हुनु र त्यस रूपमा बुझ्नु जायज नै हो । संस्कृतिका अन्य अनेकौँ आयाम पनि छन् ।

संस्कृति संस्कृतिमा मात्र सीमित विषय होइन भन्ने सन्दर्भ त माथि गरिएको चर्चाबाट पनि स्पष्ट भएकै हुनुपर्छ । संस्कृतिभन्दा बाहिर पनि यसको महत्व छ । लेखन संस्कृति, पठन संस्कृति, आर्थिक संस्कृति, राजनीतिक संस्कृति, पर्यटन संस्कृति, औद्योगिक संस्कृति, सहिष्णुताको संस्कृति, सहयोगको संस्कृति, मेलमिलापको संस्कृति आदि । यस्ता अनेकौँ विषय र क्षेत्रको परिष्कार र व्यवहारलाई संस्कृति शब्दले सुशोभित गरेको पाइन्छ । यी सबैमा परम्परा र संस्कारको महत्व दर्शाउन संस्कृति शब्द प्रयोग हुने गरेको छ ।

नेपाल विविध भाषा, धर्म, कला, संस्कृति भएको देश हो । यस्तो विविधतालाई संविधानमा स्वीकार गरिएको छ । यी विविध विशेषतालाई हाम्रो राष्ट्रगानमा ‘बहुलता’को रूपमा उल्लेख गरिएको छ । हामीले हाम्रो देशको बहुलतामा गर्व गर्दै आएका छौँ । यिनलाई हामीले हाम्रो राष्ट्रिय पहिचान मानेका छौँ । यसलाई उपयुक्त ढंगले समन्वय नगरिँदा केही विरोधाभास पनि छन् । यस दिशामा राज्यका उपक्रमहरू क्रियाशील छन् । थप अध्ययन, अनुकूलन र विकासका लागि धेरै काम गर्न बाँकी छ अर्थात् त्यस्तो काम गर्ने अवसर हाम्रा सामु विद्यमान छन् ।

समाजलाई सुन्दर बनाउने संस्कृतिले हो । संस्कृति सुन्दर बन्ने संस्कारले हो । संस्कार मानिसको व्यवहार हो । मानिसको व्यवहारलाई परिवार र पारीपारिक परम्पराले प्रभाव पार्दछ । यसरी हेर्दा हाम्रो परम्परा र पारीवारिक व्यवहारबाट संस्कृति विकसित हुन्छ भन्ने स्पष्ट हुन्छ । संसारका विकसित र धनी मानिएका कतिपय देशहरू लामो इतिहास, परम्परा र गौरव गर्ने संस्कृति नभएका पनि छन् । उनीहरूले प्रविधि, औद्योगिक, व्यापार, उत्पादन आदिको विकास गरे र तिनलाई उपभोग गर्ने तरिकाहरू पनि विकास गरे । मानव समाज विकासको पछिल्लो विषय भएको हुनाले त्यहाँ झल्कन पर्ने इतिहास र संस्कृति छैन । बरु, त्यहाँ त टल्कने विषयहरू मात्र छन् । त्यस्ता ठाउँहरूको संस्कृति भन्नु नै उत्पादन, उपभोग र टल्कने हो । त्यसैले त्यहाँ कल्चर छ । हाम्रो संस्कृतिको अन्तर्य वहन गर्ने क्षमता र शब्दको अर्थसामथ्र्य त्यहाँको भाषामा पाइँदैन, कल्चर शब्दले त्यसो गर्न सक्दैन । यसको क्षेत्र विस्तार हाम्रोतिरबाट नै भएको हो । यसका अनेकौँ कारण, तर्क र तथ्यहरू छन् । हामी औद्योगिक र प्रविधिको विकासको दृष्टिले अलि पछि रहेका छौँ । यसलाई अघि बढाउनुपर्छ, हामी यस दिशामा अघि बढ्नपर्छ र बढिरहेका पनि छौँ । तर, अन्यत्र कतै नपाइने सांस्कृतिक विरासतलाई ओझेल पर्न दिनुहुँदैन ।

केही हुन केही गर्नपर्छ । केही थप हुन केही थप गर्नैपर्ने हुन्छ । सांस्कृतिक क्षेत्रको नाचगानलाई अघि बढाउन राष्ट्रिय सांस्कृतिक संस्थान क्रियाशील छ । चित्रकला आदि अन्य ललित कलाको व्यवस्थापन तथा विकासको लागि ललितकला प्रज्ञा प्रतिष्ठान स्थापित छ । भाषाको विकास तथा वाङ्मयको उन्नयनमा प्रज्ञा प्रतिष्ठान छ । धार्मिक क्षेत्रमा विभिन्न गुठी, क्षेत्र विकास कोष, क्षेत्र विकास समिति, मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद आदि छन् । सरकारको सम्बन्धित निकाय यस दिशामा क्रियाशील छ, थप क्रियाशील हुन आवश्यक पनि छ । यी सबैक्षेत्र संस्कृतिको मूर्त क्षेत्रमा केन्द्रित छन् ।

मुलुकभरिको सबै भूगोल, सबै भाषी, सबै धर्मावलम्बीहरूको संस्कृतिका विशेषताहरूलाई पहिचान गरी, तिनीहरूको अमूर्त पक्षलाई संरक्षण गर्न छुट्टै संरचना आवश्यक देखिन्छ । सबैका विशेषता छन्, तर ती अलग अलग हुँदा कतिपय विरोधाभासमा छन् । संस्कृतिलाई यथार्थ अर्थमा परिभाषित गरी विज्ञानसम्मत व्याख्या विश्लेषण गरेर जनतालाई लाभान्वित गर्न बलियो संरचना आवश्यक हो । जसरी प्राकृतिक सम्पदाको संरक्षण गरी त्यसबाट लाभान्वित गर्न ‘राष्ट्रपति चुरे—तराई मधेश संरक्षण कार्यक्रम’ छ, ‘राष्ट्रिय प्रकृति संरक्षण कोष’ सञ्चालनमा रहेको छ; यसैगरी सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि ‘राष्ट्रपति सांस्कृतिक सम्पदा संरक्षण कोष’ स्थापना गर्न आवश्यक देखिन्छ । संस्कृतिको धनी भएर पनि संस्कृतिको विकास र विस्तारको लागि सशक्त संरचनाको अभावमा हामी पछि परिरहेको अवस्थाबाट अघि बढ्न आवश्यक छ । यस क्षेत्र, विधा र विषयका विज्ञहरूको योगदान प्राप्त गर्न यसतर्फ गहकिलो कदम चाल्न आवश्यक छ ।

यसबाट हामीले हाम्रा मौलिक सांस्कृतिक सम्पदाहरूको प्रभव अन्य मित्र राष्ट्रहरूमा समेत विस्तार गरी नेपाली संस्कृतिको उच्चता सिद्ध गर्न सकिने छ । यस्तो कार्य संसारका अन्य मुलुकहरूले पनि गर्ने गरेका छन् । हाम्रो छिमेकी मित्र राष्ट्र भारतले आफ्नो दूतावस रहेकामध्ये ३८ देशमा स्वामी विवेकानन्द, महात्मा गाँधी, नेताजी सुभाष चन्द्र बोष, इन्दिरा गाँधी, नेहरू, रबिन्द्रनाथ टैगोर, लाल बहादुर शास्त्रीको नाममा सांस्कृतिक केन्द्र सञ्चालन गरेको छ । यो सबै भारतीय सांस्कृतिक सम्बन्ध परिषद अन्तर्गत छन् । सांस्कृतिक सम्पदा सम्बन्धी अध्ययन अनुसन्धानका लागि राष्ट्रिय स्तरमा ‘राष्ट्रिय सांस्कृतिक सम्पदा संरक्षण अनुसन्धानशाला’ संंगठित गरेको देखिन्छ ।

हाम्रो प्रकृति, हाम्रो संस्कृति, हाम्रो राजनीतिक विकास, हाम्रो जनजीवन, हाम्रो भाषिक विविधता हामीले हाम्रो सोच र योजनाको दायरालाई साँगुरो पारिरह्यौँ भने हामी विश्वसामु परिचित हुन सक्दैनौँ । हाम्रो माटोमा विकसित भएका सभ्यताहरू, सभ्यता विकास गर्ने चिन्तक ऋषि—महर्षिहरू, शक्तिपीठहरू, धाम तथा तीर्थहरू, तपस्थलहरूको प्रवद्र्धन गर्ने योजना र तदनुसारको भरपर्दो राष्ट्रिय स्तरको संरचना आवश्यक छ । हामीले विगतमा उचित ध्यान पु¥याउन नसकेकै परिणाम स्वरूप महामानव गौतम बुद्ध र वहाँको जन्मस्थल लुम्बिनी समेत विवाद र तानातानीमा रहेको विषय बिर्सन सकिँदैन ।

संस्कृतिको प्राज्ञिक स्रोत वेद हो । यसको व्यावहारिक स्रोत परम्परा हो । यसको रचनाको भूमि नेपाल हो । राजनीतिको सीमामा संस्कृति खुम्चिन सक्दैन र हुँदैन पनि । राजनीतिका केही दार्शनिक मान्यताहरू सार्वभौम भए पनि राज्यको दायरा संकुचित हुन्छ । राज्यका यन्त्र—संयन्त्रहरूको देशको सीमाभित्र सीमित हुन्छ र त्यसको संरक्षा सैन्यशक्तिबाट हुन्छ भने संस्कृतिको सीमा त्यस प्रकारको संकुचनमा हुँदैन । संस्कृतिको रक्षा सैन्यशक्तिबाट र यसको विस्तार राज्यशक्तिबाट नभई जनअवलम्बनबाट हुने गर्दछ । त्यसैले, संस्कृतिको विकास र विस्तार गर्न यसको अवलम्बनमा ध्यान दिनुपर्दछ । हामीले संस्कृतिको संरक्षा र विकास गर्न राज्यक्रान्ति गरेजस्तो आक्रामक हुन पर्दैन अपितु, यसको अनुशीलन र अनुशिक्षणको माध्यमबाट अन्तःपे्ररणा जागृत गर्न सकिन्छ । इतिहास र मौलिक संस्कृतिको आलोकमा विकास र समृद्धिको माध्यमबाट मुलुकलाई संसारको जुनसुकै कुनाबाट देख्न सकिने गरी टल्काउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस