फेरि अर्को हिंसा मुलुकले थेग्न सक्तैन ।

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट
  • श्रीराम पौडेल

हाम्रो देश नेपालको आफ्नै किसिमको मौलिकता छ । वीर पूर्खाहरुले स्वतन्त्रता संग्राममा विगतदेखि नै एक प्रकारको मौलिकता देखाइसकेका छन् । एवंप्रकारले हाम्रा सपूतहरुले सिर्जना गरेको देशको सम्प्रभूत्ता पनि कम्ती मार्मिक छैन । तर पछिल्लो समयमा देशमा जुन प्रकारले राजनीतिक परिदृष्यहरु अगाडि बढिरहेका छन् त्यो हेर्दा लाग्छ अब मुलुक फेरि पुरानै राजतीतिक गतिरोधमा धकेलिंदै छ ।

वास्तवमा अब देशमा कुनै पनि प्रकारको राजनैतिक परिवर्तनको आबश्यकता छैन । मुलुकमा अब चाहिने कुराहरु के के हुन् भन्ने आत्मबोध हाम्रा नेताहरुमा हुनैपर्छ । तर जसरी राजनीतिक घटनाहरु पछिल्लो समयमा अगाडि बढे त्यसले राजनीतिक वृत्तमा चेत गुमाएको हो कि भन्ने आभाष हुन थालेको छ । अब मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानैपर्छ । नेपालभन्दा कम विकसित विश्वका थुपै्र देशहरु अहिले विकासकोे उपल्लो तहमा पुगिसकेका छन् भने हामी अझै बिभिन्न बाद र उपबाद अनि गुट र फुटका राजनीतिमा रुमल्लिरहेका छौं । देशमा विकास हुनै नसक्ने सम्भावना पनि छैन । कृषि, वन, जडीवुटी, उद्योग धन्दाहरुको प्रचुर सम्भावनाहरु छ । शिक्षा, स्थास्थ्यजस्ता विषयहरुलाई गुणस्तरीय एवं आम जनताको पहुँचमा मात्रै पुर्याउने हो भने त्यसले मुलुकमा नयाँ आयाम थप्न सक्छ । त्यस्तै यहाँ मुलुकमा रोजगारीको सिर्जना गर्न सक्दा त्यसले विदेशमा रहेका लाखौं युवाहरुलाई स्वदेश फर्काउन सक्ने अवस्था रहन्छ । त्यस्तै मुलुकमा विकास, निर्माणका कार्यहरु पर्याप्त नहुँदा पनि नागरिकहरुमा एकप्रकारको निरासापन छ । त्यसलाई राजनीति गर्ने तथा सरकारमा रहेकाहरुले सम्वोधन गर्नैपर्छ । फेरि सबैले लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेर मूलधारको राजनीतिमा फर्कनै पर्छ !

सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउन पहल गर्नसक्ने ओली सरकारले माओवादी जनयुद्धलाई पूर्णता दिने भन्दै सशस्त्र आन्दोलनको हुंकार दिइरहेको बिप्लब समूहलाई पनि किन राजनीतिको मूलधारमा नल्याउने, यो अहिलेको गम्भीर बहसको विषय हो ।विप्लबले माओवादी जनयुद्धले पूर्णता पाएको छैन भन्दैमा यसरी हठासमा उनीलगायतका उनका कार्यकर्ताहरुमाथि राजनीतिक वेइमानी गर्न पाइदैन । उनीमाथि राजनीतिक प्रतिबन्ध लगाउँदै समस्याको समाधान हुन्छ र ? उनीलगायत उनका कार्यकर्ताहरुमाथि धरपकड गर्ने र दबाउने जुनप्रकारको नीति वर्तमान सरकारले अख्तियार गरेको छ त्यो उपयुक्त विधि होइन । यसले समस्याको टुंगो नलगाइ उल्टै समस्यालाई झन बिकराल बनाउने प्रायः निश्चित छ । आपसी मेलमिलाप बिना सरकार राजनीतिक रूपमा बलियो बन्नै सक्दैन । सरकारले आजसम्म उक्त समूहका राजनीतिक अनुहार र आवाज पहिचान गर्ने र त्यसअनुसार पहिला समस्याको समाधान गर्न खोजेको पाइँदैन । राज्य चलाउने क्रममा असहमतिहरु आउँछन् । तिनलाई वार्ता र संवादको माध्यमबाट समाधान तर्फ जानैपर्छ । फेरि राज्यले पहिलो शर्त पनि यसलाई बनाउनैपर्छ । चन्दलाई अझै विश्वासमा लिने र संवैधानिक परिपाटीभित्र उनको समूहलाई प्रोत्साहित गर्न सकिने ठाउँहरु प्रशस्तै छन् । कोही पनि हिंसात्मक गतिविधिमा उत्रँदा सरकारले प्रतिहिंसात्मक सोच र व्ब्यवहार सकभर देखाउनु हुँदैन । लोकतान्त्रिक नियन्त्रणका उपायहरु खोजी गर्नुपर्छ । त्यो भनेको वार्ता र संवाद नै हो । त्यसको अधिकतम् प्रयास र लचकता हो ।

सरकारले जनजीविका लगायतका मुद्दालाई भाषणको भेलमा बगाएर कसैलाई काखा, कसैलाई पाखा गर्न मिल्दैन । सबैलाई समेट्दै अविश्वास र असहमतिलाई वार्ताद्वारा छिनोफानो गर्ने लोकतान्त्रिक विधिप्रति विश्वास जनाउने र असन्तुष्टहरूको ध्यानाकर्षण गर्नुपर्छ ।विगतको एक दशक लामो सशस्त्र द्वन्द्वका घाउ अझै पुरिएका छैनन् । मुलुकमा एउटा गायकले गीत गाउँदैमा समाजमा सरकारप्रति वितृष्णा आइहाल्ने परिस्थिति पनि जन्मिएको छ ।सानोभन्दा सानो घटनाले पूरै हिंसात्मक माहौल बनिहाल्ने अवस्था छ । यस्तो बेलामा राजनीतिलाई गिजोलेर पनि समाधान आउन सक्तैन । त्यस्तै धर्मका नाममा राजनीति गर्ने कमल थापाहरु प्राय विलाइसकेको अवस्थामा छन् । राजाको कुरो अर्को विषय हो अहिले । तर फेरि पनि माओवाद वा कम्युनिष्टको नाममा अर्को हिंसात्मक अवस्था सिर्जना गर्न कोेही नेपालीले चाहैका छैनन् । त्यसले समाजमा रुपान्तरण गर्न पनि सक्तैन ।

हिंसाको त्यस्तो दुष्चक्रमा चन्द माओवादी र सरकारले मुलुकलाई लैजान पाउँदैनन् । यो अहिलेको आमबोली हो । अब जनता सचेत भैसकेका छन् । देसलाई युद्धमा धकेल्न अनि युद्धको कारण समृद्धि, सुशासन र विकासजस्ता कुरामा परिवर्तन ल्याउन सकिएन भन्ने बहाना पनि चल्दैन अब । संगठन खोल्न र राजनीतिक गतिविधि गर्न सबैलाई संवैधानिक अधिकार छ । त्यो एउटा प्रजातान्त्रिक मुलुकको गहना पनि हो । मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसकेको, संघीय संरचनाबमोजिम नै मुलुकका यावत संयन्त्रहरु अगाडि बढ्दै गर्दा अब कुनै पनि राजनीतिक दलमाथि प्रतिबन्ध सुहाउँदैन । हालै सशस्त्र आन्दोलनमा जाने भन्दै सरकारसँग विभिन्न खालको बार्गेनि गरिरहेको विप्लव समूहले पनि चारपटक सोच विचार गरीकन आफ्ना निर्णयहरु पुनर्विचार गर्न आवश्यक देखिन्छ । शान्तिपूर्ण राजनीतिक यात्राकै बाटोमा फर्कनुपर्छ त्यसैमा सरकारले परिकल्पना गरे अनुसारको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पाना सम्भब छ ।

प्रतिक्रिया दिनुहोस