५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरू

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

फागुन २६, रुपन्देही । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप विविध विषयमा छलफल, अन्तरक्रिया तथा प्रस्तुतीकरण हुने ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको भैरहवामा आइतबारदेखि सुरू भएको छ

गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्रा.डा. ईन्द्रजित राईको प्रमुख आतिथ्यमा सुरू भएको उक्त गोष्ठीको आजको सत्र सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठित अपराध र तस्करी नियन्त्रणमा सबै सुरक्षा निकायको समन्वयकारी भूमिका हुनुपर्ने बताउनुभयो । आगजनी, अवैध हातहतियार ओसारपसार जस्ता गतिविधि विरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

साइबर अपराध, मानव बेचबिखन तथा लागूऔषध कारोबार नियन्त्रण गर्न विशेष पहल गरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले लागूऔषध दुर्व्यसनी समस्या समाधान गर्न ७ वटै प्रदेशमा छिट्टै पुनर्स्थापना केन्द्र स्थापना गर्ने योजना रहेको बताउनुभयो । नागरिकको सुविधाका लागि आवश्यकता अनुसार छोटी भन्सार स्थापना गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अपराध र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जोड दिनुभयो । घरेलु हिंसाका घटनामा मिलापत्र होइन मुद्दा दर्ता गरी कानुनी कार्वाही गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अधिकार मानव अधिकार रक्षाका लागि हो, दानव अधिकार रक्षाका लागि होइन ।’ समुदाय-प्रहरी साझेदारी कार्यक्रम फलदायी भएको चर्चा गर्दै उहाँले यसलाई अझै सशक्त रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीको आजको सत्रमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।

सोमबार सम्पन्न हुने उक्त गोष्ठीमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, ५ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, उक्त प्रदेश अन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस