राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौं । १०९ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नारी दिवसको शुभकामना व्यक्त गरेकी छिन् । आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘१०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना दिन चाहन्छु ।’

यस वर्षको अन्तराष्ट्रिय नारी दिवसको राष्ट्रिय नारा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ रहेको छ । जसले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अतिआवश्यक छ भन्ने सन्देश दिइरहेको राष्ट्रपति भण्डारीले बताएकी छन् ।

‘संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्ने गरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले पनि महिलाको सम्मानजनक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यसको मर्म र भावना बमोजिम कार्यान्वयन गर्न नीतिगत, संस्थागत र कार्यक्रमहरुको समेत थालनी गरिसकेको अवस्था छ । यी सबै प्रावधान र प्रयासहरुलाई सफल बनाउन सकेमा सबै महिलाहरुका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ ।’

महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर मनाइने गरिन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको हो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे । फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तराष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।

आज १०९ औँ अन्तराष्ट्रिय नारी दिवस । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस