नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फाल्गुन २१, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । हिंसात्मक द्वन्द्वमा रहेको नेकपा (विप्लब समूह) सँग तीनबुँदे सहमति भएपछि मुलुकमा अब द्वन्द्वात्मक हिंसाको अन्त्य भएको प्रष्ट पार्नुभयो ।

सरकार र नेकपा ९विप्लब समूह० बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । नेपाल र नेपाली जनताले शान्ति खोजेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरको प्राप्ती, लोकतन्त्रको रक्षा र शान्ति चाहेको उहाँले चर्चा गर्नुभयो ।

समृद्ध नेपाल सुखी नेपाली’ स्थापित गर्न शान्तिपूर्ण वातावरणको आवश्यकता पर्ने भन्नुहुँदै प्रधानमन्त्री ओलीले महासचिव चन्दले ऐतिहासिक जिम्मेवारी वहन गर्नुभएको भन्दै सरकार र पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । “यो क्र्यास ल्याण्डिङ होइन, सफ ल्याण्डिङ हो” प्रधानमन्त्री अ‍ोलीले भन्नुभयो, “यो रातारात गरेको सहमति होइन, लामो समयपछिको उपलब्धीको परिणाम हो ।” विप्लब पक्षसँग छलफल र वार्ता गरेको दशौं वर्ष पुगेको उहाँले स्मरण गर्नुभयो ।

सहमति कार्यान्वयनको चरणमा कुनै समस्या आए वार्ताद्वारा सहमति खोजिने प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “यो सहमतिले नेपाललाई नयाँ युगमा प्रवेश गराएको छ ।” यसअघि सिके राउतसँग पनि यसैगरी वार्ताबाट सहमति गरी शान्तिको मूलधारमा ल्याएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । शान्तिको नयाँ युगमा नेपाल प्रवेश गरेपछि नेपालको समृद्धि अब असम्भव नहुने बताउनुभयो ।

“आजको उपलब्धीले विश्वकै कम्युनिष्ट आन्दोलनलाई नयाँ सन्देश दिएको छ” चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “असल मनसायका साथ अगाडि बढ्दा सफलता प्राप्त हुन्छ भन्ने हामी दृष्टान्त बन्न सफल भएका छौं ।” कोही मान्छेहरु देशलाई बर्बाद गर्न खोजेको उहाँले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस