दोस्रो चरणको खोपका लागि १५ केन्द्र तोकिए

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

फागुन २१, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ ।

खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ । वडा छुट्याएर केन्द्र तोकिए पनि परिचय खुल्ने फोटोसहितको परिचयका आधारमा पायक पर्ने अस्पतालमा खोप लगाउन सकिने कामपाको भनाइ छ । खोप केन्द्र तोकिएका अस्पतालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, मदरल्याण्ड अस्पताल सिनामङ्गल, काठमाडौँ मेडिकल कलेज सिनामङ्गल, ओम अस्पताल एण्ड रिसर्च सेन्टर, स्तुपा अस्पताल बौद्ध, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल नक्साल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र जनमैत्री अस्पताल बालाजु छन् ।

प्रतिक्रिया दिनुहोस