राज्यले मलाई होइन, मन्त्रीसँगै ज्यान गुमाउनेका परिवारलाई हेरोस् : बिध्या

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ८ मिनेट

काठमाडौं । रवीन्द्र अधिकारी सकारात्मक सोच भएको, अरूको दुःखमा साथ दिन खोज्ने, देशलाई माया गर्ने इमानदार व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्नो छोराको असल बाबा हुनुहुन्थ्यो । आफ्नो बाबाको असल छोरा हुनुहुन्थ्यो । म उहाँलाई श्रीमान् भन्दिनँ । मैले दुर्घटनामा एक असल साथीलाई गुमाएकी छु । हाम्रो भेट ०५० मा भएको हो । त्यस वर्षको अन्तिममा हेटौँडामा अनेरास्ववियुको सम्मेलन भयो । म बागमतीबाट प्रतिनिधि थिएँ, उहाँ गण्डकीबाट  सम्मेलनमा हामी दुवै निर्वाचित भयौँ । त्यसैबेला देखि आन्दोलन र संगठनमा भेटघाटले निरन्तरता पायो ।

सांगठनिक सहयात्रा थियो  आपसमा पनि नजिक हुन थाल्यौँ । बिस्तारै हाम्रो स्वभाव मिल्नेजस्तो देखिन थाल्यो । हामी दुईबारे संगठनमा समेत चर्चा हुन थाले । यो जोडीले विवाह गर्दा राम्रो हुन्छ भनेर साथीहरूले सल्लाह पनि दिन थाले  तर, हामीले बिहेबारे सोचिसकेका थिएनौँ , चर्चा हाम्रो घरसम्म पुगेछ । दुवैको घरमा सल्लाह पनि भएछ । घरमा मलाई यसबारे सामान्य सोधपुछ भयो । यसलाई मेरै जिम्मा छाडिदिनुस् भनिदिएँ  उहाँहरूले सहज रूपमा लिनुभयो । ०५२ देखि उहाँसँग निकटता अझ बढ्यो । सायद हामीबारे चर्चा भइरहेको हुनाले पनि थप नजिक भएका थियौँ । ०५३ मा अनेरास्ववियुमा विवाद भयो ।

अर्को साल पार्टी नै फुट्यो  यो विभाजनले हामीलाई झनै एक–अर्काको नजिक ल्याइदियो । सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने उहाँको धारणा थियो  मेरो सोच पनि पार्टी मिल्नुपर्छ भन्ने नै थियो । मन र मत दुवै मिले पनि हामी साथमा घुम्न जाने, सँगै बस्ने चाहिँ गर्दैनथ्यौँ । प्रेम त थियो, एक–अर्कालाई देख्दा बिल्कुल फरक अनुभूति हुन्थ्यो । तर, त्यो अहिलेको जस्तो खुल्लमखुला प्रेम थिएन  एकले अर्काको नजिक हुन मन पराउने, एक–अर्कालाई आदर गर्नेखालको सम्बन्ध थियो । सबैको जोड थियो, एक–अर्कालाई मन पराउनुहुन्छ भने बिहे गर्नुस् ।

परिवार र साथीहरूको संयोजनमा औपचारिक कुराकानी भयो । सबैको सल्लाहपछि ०५६ असार ६ मा हामीले बिहे ग-यौँ । अदालतमा पनि बिहे दर्ता गरायौँ । उहाँले मलाई औँठी लगाइदिनुभयो, मैले भने लगाइदिइनँ किनकि उहाँको आग्रह यस्तै थियो । सुन ला उन मलाई मन पर्दैन भन्नुहुन्थ्यो । माला साटासाट ग-यौँ । सिन्दुर लगाउने, गहना लगाउने, बन्धन बाँध्ने मबाट हुँदैन, यसलाई सामान्य ढंगले लिनुपर्छ भन्नुभयो । मैले लगाउने इच्छा गरेको भए रोक्नुहुने थिएन । तर, मैले पनि उहाँको इच्छा कदर गरेँ, विवाहपछि सामान्य भोज गरेका थियौँ ।

मेरो एउटा खुट्टा भाँचिएकाले हिँड्न अलिक असहज हुन्छ । यो कुरा आज भन्नैपर्छ, हामीबीच प्रेम हुँदा खुट्टाको चर्चा भएन । तर, बिहे गर्नेवेला कतिपयले भन्थे रवीन्द्रले तलाई साँच्चै माया गर्दैन  धेरैले धेरैथरी कुरा गरे । उहाँलाई पनि मसँग बिहे नगर्न सल्लाह दिँदा रहेछन् । जिन्दगीका अरू पाटा पनि हुन्छन् भनेर सम्झाउँदा रहेछन् । उहाँले पनि हुन्छ हुन्छ भनिदिनुहुँदो रहेछ  उहाँको बानी नै सबैका कुरा सुन्ने, हुन्छ भन्ने, तर निर्णय गरेपछि पछाडि नफर्कने थियो । उहाँ अडान भएको व्यक्ति हो । प्रेम भनेको देखाउ ने कुरा होइन । तपाईंले मलाई माया गर्नुहुन्छ, म तपाईंलाई माया गर्छु, यसलाई बुझ्नुपर्छ भन्नुहुन्थ्यो ।

मलाई त्यतिवेला के लागेको थियो भने, प्रेम दुईजनाको बीचमा हुन्छ र सबै कुरा आपसमा हुन्छ  तर, विवाह सामाजिक सम्बन्ध भएकाले यो विषय इस्यु बन्यो । त्यसवेला मैले उहाँलार्ई भनेँ पनि, मेरो खुट्टाको कारण समस्या हो भने ठीकै छ नि त तपाईं मसँग बिहे नगर्नुस् । उहाँले मान्नुभएन  अरू कुरा गर्दै गर्छन् भन्नुभयो । उहाँ विरोधलाई पनि विनाआनाकानी स्वीकार गर्ने मान्छे हो  तर, आफ्नो अडानचाहिँ छोड्नुहुन्थेन । बिहेको सवालमा त्यही भयो  बिहेपछि खुट्टाको विषय फेरि कहिल्यै उठेन । यो विषयले हामी बीच कुनै ठाउँ पाएन ।

विवाहपछि हामी कमलपोखरीमा डेरामा बस्थ्यौँ  दुवैजना अनेरास्ववियुमा सक्रिय थियौँ । त्यसपछि भने मैले विद्यार्थी राजनीति छाड्ने निर्णय गरेँ  , व्यक्तिगत कुरालाई राजनीतिक सवाल बनाउनुहुन्न भन्ने संस्कार हाम्रोमा अझै विकास भइसकेको छैन । राजनीतिक फा इदाका लागि अत्यन्त व्यक्तिगत मामिलालाई पनि प्रयोग गर्ने गरिन्छ । यसबाट म पनि पीडित भएँ । मेरो कारण उहाँमाथि प्रहार नहोस् भन्ने चाहन्थेँ  आफैँमाथि त्यस्तो प्रहार हुँदा पनि मलाई सहन गाह्रो हुन्थ्यो । पीडा बढी हुन्थ्यो  त्यसमाथि एउटै क्षेत्रमा जाँदा हामी दुईजना नै प्रतिस्पर्धामा उत्रिनुपर्ने पनि हुन सक्थ्यो ।

उहाँको बाटोमा धावा नबोल्ने निर्णय मैले गरेँ  त्यसैले मैले अनेरास्ववियु छाडेँ र केही समय अनेमसंघमा काम गरेँ । त्यसपछि आफ्नै ढंगले प्राज्ञिक कर्ममा जान चाहेँ । ०५७ मा मैले मास्टर्स सकेँ , त्यही वेला ठूलो बाबु (विराज) जन्मियो र एक वर्ष पूर्णतः उसै लाई समय दिएँ । ०५९ मा पोखरा आएर पिएन क्याम्पसमा पढाउन थालेँ  अन्तरंग जीवनमा पनि उहाँसँग धेरै योजना हुन्थे । कति समयमा छोरा जन्माउने, कति अन्तर राख्ने, परिवारलाई कसरी खुसी बनाउनेजस्ता योजना उहाँसँग हुन्थे , म समाजबाट अलि बढी प्रभावित हुन्थेँ । सबै कुरामा हाम्रा दृष्टिकोण समान थिए ।

उहाँले साथीसँग कतै जाँदै छु भन्दा कहिलेकाहीँ को साथी भनेर मैले सोध्ने गर्थेँ  तर, म विदेश जाँदासमेत उहाँले कोसँग भनेर सोध्नुभएन । जीवन भनेको व्यक्तिगत हो भन्नुहुन्थ्यो  उहाँले मलाई सधैँ आदरार्थी शब्द प्रयोग गर्नुभयो । आदेश कहिल्यै दिनुभएन, घरमा पनि मेरो देवर, नन्द, आमा, सबैसँग सुमधुर सम्बन्ध रह्यो । विवाह गरेर उहाँको घरमा आएकी हुँ भन्ने महसुस कहिल्यै भएन  दुवैजना देवर मलाई निकै आदर गर्नुहुन्छ । घर चलाउन उहाँहरूले धेरै सहयोग गर्नुभएको छ । आफन्तहरू पनि सहयोगी हुनुहुन्छ । उहाँ अखिलको नेतृत्वमा हुँदा निकै व्यस्त हुनुभयो । दिउँसो कहिलेकाहीँ अफिसबाट सुटुक्क कोठामा आउनुहुन्थ्यो ।

विराज त्यही ७/८ महिनाको थियो  बाबुसँग बस्ने र फोटो खिच्ने गर्नुहुन्थ्यो । प्रायः अभावमा सम्बन्धहरू अधुरा बन्न पुग्छन् । तर, हामीले सबै कुरामा पूर्णता देख्यौँ । मानवीय स्वभावमा कहीँकतै कमजोरी हुन्छन्, तर त्यसलाई बल्झाए समस्या हुने हो । बुझ्ने र बुझाउने ग-यो भने साम्य हुन्छ  यो कुरा हरेक जोडीले बुझ्नुपर्छ जस्तो लाग्छ । हामी दुईजना सँगै हिँड्ने, घुम्नेचाहिँ एकदमै कम भयो । उहाँको राजनीति थियो । त्यसभित्रको संस्कार पनि छुट्टै छ । सँगै हिँडेको देख्न पनि नचाहने अनि सँगै हिँडेनन् भन्ने पनि गरिन्छ  उहाँले छोडेर गइसक्नुभयो भनेर म कुरा बनाउँदिनँ ।

कहिलेकाहीँ हामीबीच एकअर्काको आलोचना गर्ने काम पनि भयो  तर, हामीले त्यसलाई व्यवस्थापन गर्यौ । हामीले एक–अर्कालाई श्रीमान्–श्रीमतीभन्दा पनि मानवका रूपमा स्वीकार गथ्र्याैं । एक–अर्कालाई अत्यन्त आदर गर्थ्यौ  । सम्मानयुक्त सम्बन्ध गाह्रो हुन्छ भन्छन्, तर हामीमा त्यस्तो रहेन  हामीले फरक क्षेत्रमा काम गर्यौ  । राजनीतिमा म नहुँदा वर्तमान राजनीतिको कुरा नबुझ्न सक्थेँ  उहाँले मेरो अध्यापनको पाटो नबुझ्न सक्नुहुन्थ्यो । त्यसैले आपसी कुरा सेयर गर्थ्यौ  । ०६२/६३ मा जनआन्दोलन हुँदा म काठमा डौंमै थिएँ ।

उहाँ पोखरामा गिरफ्तार हुनुभयो, पर्सिपल्ट उहाँलाई भेट्न म पोखरा आएँ । ११ बजे आइपुगेको थिएँ  उहाँले किन आएको भनेर अलि असहज मान्नुभयो । त्यसपछि म फर्कें । २ महिना उहाँ हिरासतमा रहँदा मैले भेटिनँ । पछि किन भेट्न नआएको भनेर जिस्क्याउनु पनि भयो । म त्यहाँ जाँदा तपाईंले असहज महसुस गरेकाले आइनँ भनिदिँए । कतिपयले काठमाडौंबाट उहाँलाई भेट्न आउँदा झर्कने पनि भनेका थिए ।त्यो समय उहाँले बाबा, आमा र परिवारको बारेमा लेख्नुभएको छ  मेरोबारेमा लेख्नुभएको छैन। मेरोबारेमा किन नलेख्नुभएको भनेर ठट्यौली पारामा मैले सोधेको थिएँ ।

उहाँ संविधानसभाको सदस्य हुँदा मेरो अर्को बाबु (स्वराज) सानो थियो । उहाँ पोखरा नै बस्नुहुन्थ्यो । हामीलाई बोल्ने फुर्सद पनि हुँदैनथ्यो  तर, उहाँ महिनामा एकपटक काठमाडौं जानुहुन्थ्यो । मैले मेरो याद आउँदैन कि कसो हो भन्दा उहाँले याद आएर नै महिना–महिनामा आएको छु भन्नुुहुन्थ्यो । बच्चाहरूलाई केही समय दिनुहुन्थ्यो । मैले उहाँको बाध्यता राम्रोसँग बुझ्थेँ । पोखरा छोडेर काठमाडौं गएपछि मैले एउटा सामुदायिक र एउटा निजी कलेजमा पढाउन थालेँ ।

“पढाउनु भनेको जागिर खानु मात्र होइन, विद्वता प्रदर्शन गर्नुपर्छ” भन्नुहुन्थ्यो उहाँ  विषयसँग सम्बन्धित    तथ्यांक  सोधिरहनुहुन्थ्यो ।

संविधानसभामा निर्वाचित भएपछि उहाँले सबै समय विकासका काममा खर्च गर्नुभयो । मन्त्री हुँदा पनि निकै मिहिनेत गर्नुभएको छ । नतिजा निकाल्नमै उहाँको ध्यान थियो । आफूले बनाएका योजना पूरा गरेरै छाड्ने दृढता उहाँमा थियो । परिणाम पनि देखिएका छन् । मन्त्री भएको सय दिनमा नै परिणाम देखिने काम गर्छु भन्ने उहाँको अठोट थियो । प्रारम्भिक सफलतापछि नै उहाँलाई धेरै विवादमा मुछ्न थालियो  सम्पत्ति विवरणलाई लिएर विवादित बनाउने प्रयास भयो । त्यो संयुक्त परिवारको सम्पत्ति हो । हामीले मात्र कमाएर भएको होइन । सुर्खेतमा छाता ओढाएको भन्ने अर्को विवाद निकालियो ।

केही नभएर हायात होटेलमा १२ बजे राति रक्सी खाएर मातेको आरोपसमेत लगाइयो  जुन गलत थियो । त्यतिवेला उहाँ मन्त्री हुनुहुन्थ्यो । त्यसैले धेरै बोल्न मिलेन । अहिले मैले बोल्न मिल्छ । त्यसदिन उहाँ १० बजे नै निवासमा आइसक्नुभएको थियो । १० बजेदे खि नै आफूसँग रहेको व्यक्ति १२ बजे बेहाल अवस्थामा रहेको भनेर दुष्प्रचार गरेको पनि मैले नै देख्नुपर्यो ।

वाइडबडीबारे धेरै नै विवाद भएपछि एकदिन बिहानै मैले उहाँलाई सोधेँ– खास कुरा के हो ? अरूलाई नभने पनि मलाई भन्नुस् भनेँ । ‘यसमा म दोषी छैन विद्या, मेरो संलग्नता छैन, किनकि सबै प्रक्रिया पहिले नै पूरा भइसकेका थिए’ उहाँको भनाइ थियो ।

संसद्मा ढाँट्यो भन्ने आरोप पनि लगाइयो । उहाँले सबैकुरा त्यतिवेला बाहिर बोल्न मिलेन । उहाँले मलाई भनेअनुसार उहाँले यसमा न हस्ताक्षर गर्नुपर्यो , न कुनै कागज पल्टाउनुपर्यो । मन्त्री बन्दा दुई किस्ता पैसा गएको त उहाँलाई समेत थाहा रहेनछ । यो कुरा समयमा थाहा नपाउँदा संसद्लाई ढाँटेजस्तो भयो । समय आएपछि सबै यथार्थ आउनेछ भन्ने उहाँको विश्वास थियो । सत्य त्यही नै हो   अफसोस, यो वास्तविकता प्रस्ट्याउन नपाउँदै उहाँ जानुभयो । महालेखापरीक्षक टंकमणि शर्मा सरसँगको प्रसंगमा पनि मैले उहाँसँग जिज्ञासा राखेकी थिएँ ।

उहाँसँग अनौपचारिक रूपमा भएको संवादको प्रसंग संसद्मा खोल्नुहुँदैनथ्यो कि, तपाईंलाई अनुभव नभएर हो कि भनेकी थिएँ । उहाँले यसलाई स्वीकार्नुभयो । मैले नजानेर बोलेँ भन्नुभयो । उहाँ गल्ती महसुस गर्ने मान्छे हो । मसँग केही ढाँट्नुहुन्नथ्यो  म विश्वस्त छु, उहाँमाथि लगाइएका यी आरोपलाई समयले उचित जवाफ दिनेछ । उहाँले मैले काम गरेँ । परिणाम दिन खोजेँ  यहाँ काम गर्नुभन्दा पनि जे चलेको छ त्यही चलोस् भन्ने रहेछ । सबै उस्तै हुन् भन्ने देखाउन यस्तो गरिँदै छ भन्नुहुन्थ्यो ।अहिले हामी ठूलो पीडा मा छौँ । प्रधानमन्त्रीले शोकको अवस्था धैर्य गर्न भन्नुभएको छ ।

उहाँ आफैँ पनि शोकमा हुनुहुन्छ । उहाँले पछि बसेर सल्लाह गरौँला भनेर सातैजनाको परिवारलाई भन्नुभएको छ । परिवारका लागि मैले केही अपेक्षा गरेको छैन । सरकारले मेरोभन्दा पनि उहाँसँगै जीवन गुमाएका अरू परिवारको समस्या हेर्नुपर्छ । जसको एक जनाले कमाएर सबै परिवार पाल्नुपर्ने अवस्था छ, उहाँहरूको ध्यान राखोस् । मेरो मायालु परिवार छ । उहाँहरूसँगै मिलेर संघर्ष गर्छु  तर, राजनीति गर्नेबारे मैले कुनै सोच बनाएको छैन । अहिले त्यो सोच्ने वेला पनि होइन । म जुन क्षेत्रमा छु, त्यहीँ सकेजति राम्रो गर्नु मेरो प्राथमिकता हो ।

अहिले नेकपाप्रति जनताको धेरै अपेक्षा छ । बल्ल १ वर्ष बितेको छ । बाँकी ४ वर्ष कसरी बिताउने भन्ने योजना हुनुपर्छ । हाम्रो देशको अर्थतन्त्रको खम्बाको रूपमा पर्यटनलाई विकास गर्ने उहाँको योजना थियो, त्यसले सार्थकता पाउनुपर्छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उहाँको योजना पूरा गर्न सरकार र नेकपाले सोच्नुपर्छ । निजगढ, पोखरा र भैरहवा विमानस्थललाई समयमा सम्पन्न गर्नुपर्छ । राष्ट्रिय योजनाहरू समयमै सम्पन्न भए उहाँलाई शान्ति प्राप्त हुनेछ । म पार्टीलाई यसो गर, उसो गर भन्न चाहन्नँ। विकास आन्दोलनलाई दिशानिर्देश गर्नेखालको व्यक्तिलाई अबको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा उठाउनुपर्छ । म शुभकामना दिन्छु ।

प्रतिक्रिया दिनुहोस