बागमती जलविद्युत आयोजना अबको तीन हप्तामा राष्ट्रिय प्रणालीमा जोडिने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं– २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना अबको तीन हप्तामा राष्ट्रिय प्रणालीमा जोडिने भएको छ । ललितपुर र मकवानपुरको सीमानामा निर्माणधीन आयोजनाको विद्युत प्रणालीमा थपिन लागेको हो ।

अहिले आयोजनाको हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडान पूरा गरेर अन्तिम चरणको काम भईरहेको आयोजनाका आवासीय इन्जिनियर रत्न बम्जनले बताए । उनका अनुसार ४/५ दिनमा उक्त काम सकाएर पानी भर्न सुरु गरिनेछ ।

फागुनको अन्तिम साताबाट उपकरणको जाँच गरेर चैत्रको पहिलो साताबाट परिक्षण उत्पादन सुरु गरिने पनि बम्जनले बताए । आयोजना गएको असारमा सम्पन्न गर्ने तालिका थियो । तर, निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्रयाक) का कारण काम प्रभावित हुँदा उत्पादन अवधि पछि सरेको आयोजनाले जनाएको छ । २०७३ सालबाट निर्माण सुरु भएको आयोजना पूरा हुन थप तीन हप्ता लाग्ने भएको छ । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत साढे १३ किलोमिटर दुरीमा पर्ने कुलेखानी सबस्टेसनमा जोडिनेछ ।

आयोजना सम्पन्न गर्न ४ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा प्राइम बैंकको अगुवाईमा ११ बैंकको ऋण लगानी छ । कुल लागतको ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस