टेलिफोन सेवा अवरुद्ध सेवाग्राहीलाई सास्त

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १७ , प्युठान । उत्तरी प्युठानको गौमुखी गाउँपालिका र यस आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ । जिल्लाको दुर्गम क्षेत्र गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो ।

सो टावरमा आएको समस्यासँगै दुई हप्तादेखि यहाका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका हुन् । गत फागुन ४ गते चट्याङले क्षति पुर्याएको बिटिएस टावर अझै बन्न सकेको छैन । सञ्चारमा समस्या आएसँगै गाउँपालिकाको कामकाजमा समेत समस्या भएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

सेवा अवरुद्ध भएपछि यस क्षेत्रका सयौँ उपभोक्ता सञ्चार सुविधाबाट वञ्चित छन् उनले भने। चट्याङले टावरमा क्षति पुर्याएकाले अझै करीब दुई हप्ता मर्मतसुधार गर्न लाग्ने दूरसञ्चार कार्यालयका प्रमुख कृष्ण श्रेष्ठले बताए । घटना पछि नेपालगञ्जस्थित दूरसञ्चार कार्यालयबाट प्राविधिकसहितको टोलीले स्थलगत अवलोकन गरी क्षतिको विवरण सङ्कलन गरेकोे र टावरका उपकरण मर्मत भइरहेको उनले जनाए ।

दुई साता देखि टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासीका साथै वैदेशिक रोजगारीमा गएकाहरु आफन्तजन र घरपरिवारसँग समेत सम्पर्क टुटेको छ ।

प्रतिक्रिया दिनुहोस